Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा मुख्य निर्वाचन अधिकृत र अन्यमा निर्वाचन अधिकृतको कार्यालय स्थापना 

रुकुम पश्चिमका सवै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । ६ वटा स्थानीय तह मध्येमा मुसीकोट नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश विद्याराज पौडेलले व्यानर पढेर कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनसंगै जिल्लाका राजनीतिक दल, कार्यालय प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतसंग छलफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आचारसंहिता पालना, चुनावलाई निष्पक्ष बनाउने लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै जिल्लाका ५ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सबै स्थानीय तहमा कार्यालय स्थापना गरिएको हो । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, त्रिवेणि गाउँपालिका र सानीभेरी गाउँपालिकामा पालिका कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँफिकोट गाउँपालिकामा भने वडा नम्बर ४ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यो संगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु कार्यक्षेत्रमा खटिएका छन् । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश विद्याराज पौडेल रहनुभएको छ । त्यस्तै आठबीसकोट नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गणेशकुमार गौतम र चौरजहारी नगरपालिकामा जिल्ला न्यायाधीवक्ता द्रोणदत्त पौडेल निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ । 

बाँफिकोट गाउँपालिकामा जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहरा, सानीभेरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बुटवलका उप सचिव कमानसिंह थापा मगर र त्रिवेणी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कृतिबहादुर बस्नेत निर्वाचन अधिकृत हुनुहुन्छ । कार्यालयमा आवश्यक कर्मचारी भने स्थानीय रुपमै व्यवस्थापन गरिने बताईएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update