Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादीका सवै उम्मेदवारलाई विजयी गराउने गरी लाग्न कार्यकर्तालाई नेता अनलको निर्देशन
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  केन्द्रीय सदस्य गोपाल  शर्मा अनलले विजयको नमुना स्थापित हुने गरी स्थानीय तहको निर्वाचन अभियानमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम चौरजहारी नगर समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य अनलले आफ्नो पार्टीले जिल्लाका ६ वटै स्थानीय तहका उम्मेद्वार सर्वसम्मत टुङ्गो लगाएको वताउनुभयो । 

समानुपातिक समावेशी प्रणाली स्थापना गर्न निर्णायक भुमिका खेलेको माओवादीको लागि चौरजहारी नगरपालिकामा नगर प्रमुखको उम्मेद्वार दलित समुदायबाट पाउनु गौरवको विषय भएको उहाँको भनाई छ । पुष्प वादीलाई नगर प्रमुखको सर्वसम्मत उम्मेद्वार बनाउने निर्णयले माओवादी पार्टीको समावेशी र समानुपातिक प्रणालीप्रतिको प्रतिवद्धता प्रमाणित भएको उहाँले दावी गर्नुभयो । 

केही दल र दलका नेताहरूले चौरजहारीमा माओवादीले कमजोर उम्मेद्वार खडा गरेको चर्चाप्रति टिप्पणी गर्दै केन्द्रीय सदस्य अनलले बलियो र कमजोरको फैसला जनताले वैशाख ३० गते देखाईदिने बताउनुभयो । माओवादीले रुकुम पश्चिमबाट समाजवाद निर्माणको आधार तयार गर्न लागेको भन्दै नेता अनलले यथास्थितिवादी र प्रतिगामी शक्तिलाई यो कुरा मन नपरेको समेत वताउनुभयो । चौरजहारीमा माओवादी जनाधार थप सुदृढ भएको र १४ वटै वडामा माओवादी विजयी हुने उहाँले दावी गर्नुभयो । 

बैठकमा बोल्दै प्रदेश समिति सदस्य एवं चौरजहारी नगर प्रमुख विशाल शर्माले आसन्न निर्वाचनमा नगर प्रमुखको उम्मेद्वारका लागि आफुहरूले पनि आकांक्षा राखेको भएपनि पार्टीको निर्णय पश्चात नगर प्रमुखका उम्मेद्वार पुष्प वादीलाई विजयी गराउन सबै आकांक्षीहरू हार्दिकताका साथ लागेको बताउनुभयो । 

पार्टी निर्णयको पक्षमा आफुहरू एकढिक्का भएर खडा हुने वताउदै नेता विशालले परिवर्तनका उपलब्धिहरू संस्थागत गर्न माओवादीले जित्नुपर्नेमा जोड दिनुभयो । चौरजहारी नगर समितिको विहिवारको बैठकले १४ वटै वडाका अध्यक्ष र सदस्यका उम्मेद्वारको टुङ्गो लगाएको छ । यसैगरी निर्वाचन प्रचारको अभियानलाई वडा, टोल र घरघरमा केन्द्रीत गर्ने निर्णय गर्दै बैठकले निर्वाचन परिचालनको कार्ययोजना समेत तय गरेको छ ।

बिहिबार बसेकाे नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम चौरजहारी नगर समितिको बैठक ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update