माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
रुकुम पश्चिममा पनि परीक्षा सुरु भएको छ । अहिले बिहान ८ बजेदेखि जिल्ला भरमा परीक्षा सुरु भएको हो । जिल्लामा यस पटक ४ हजार २ सय ३० जना विद्यार्थी सहभागि हुँदैछन् । जिल्लाका विभिन्न २३ केन्द्रबाट नियमित तर्फ र ग्रेड वृद्धिका लागि २ हजार १ सय २ छात्र र २ हजार १ सय २८ छात्राले परीक्षा फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
इकाइका सूचना अधिकारी डायमण्ड पुनका अनुसार नियमिततर्फ साधारण अन्तर्गत ४ हजार १ सय ४४ जना र प्राविधिक तर्फ ४८ जना गरी ४ हजार १ सय ९२ जनाले परीक्षा फाराम भरेका छन् । ग्रेडवृद्धितर्फ साधारण र प्राविधि गरी ३८ जनाले एसईईको परीक्षा फाराम भरेका छन् ।