रुकुम पश्चिममाको त्रिबेणी गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा सर्वदलिय छलफल भएको छ । वैशाख ३० गते हुन लागेको निर्वाचनका विषयमा निर्वाचन अधिकृतको कार्यालय खारानेटामा छलफल भएको हो । बैठकमा ५ राजनीतिक दलहरुको सहभागिता रहेको र निर्वाचनलाई सफल पार्ने विषयमा छलफल भएको निर्वाचन अधिकृत कृतबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा ११ र १२ गते हुन गइरहेको उम्मेदवारी दर्ताका विषय सहित निर्वाचनलाई निष्पक्ष, धाँदलीरहित वातावरणमा सम्पन्न कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । दलहरुले निर्वाचनलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
त्यस्तै उम्मेदवारी दर्ताका लागि सबै दलहरु एकैपटक उपस्थित हुँदो भिडभाड हुने भएकाले आलोपालो गरी आउन निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले दलहरुलाई अनुरोध गरेको छ । दलहरुले यसमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्यालयको भनाई छ ।