Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेसको तर्फबाट मुसीकोटको नगर प्रमुखका लागि ९ जनाको नाम सिफारिस 

नेपाली काँग्रेस रुकुम पश्चिमले मुसीकोट नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि ९ जनाको सिफारिस गरेको छ । धेरै जनाको आकांक्षा देखिएपछि सबैको नाम कर्णाली प्रदेशमा सिफारिस गरिएको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ । प्रमुखको उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस गरेको कांग्रेसले उप प्रमुखमा ६ जनालाई सिफारिस गरेको छ । नगर प्रमुखको उम्मेदवारमा सिफारिस हुनेमा सुरतजङ्ग मल्ल, कालुराम खड्का, यज्ञबहादुर विष्ट, गोरखबहादुर खत्री, महेन्द्र केसी, काशिराम खड्का, प्रेमबहादुर ओली, टेकबहादुर पुन र शिवराम खत्री रहनुभएको छ ।

यि मध्येमा महेन्द्र केसी गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका तर्फबाट मुसीकोटको प्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै काँग्रेसले वालकुमारी गिरी, निर्मला गिरी, कल्पना वस्याल, कमला केसी, गोमा नेपाली र मनकुमारी केसीको नाम सिफारिस गरी प्रदेश कार्यसमितिमा सिफारीस गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । त्यस्तै आठविसकोट नगरपालिकामा प्रमुखको उम्मेद्धवारको लागि २ जनाको नाम सिफारीस गरिएको छ । धिरेन्द्रकुमार वटाला र तारकबहादुर शाहीको नाम सिफारिस गरिएको हो ।

उप–प्रमुखका लागि भने शोभा शाही मल्लको नाम सिफारिसमा परेको छ । काँग्रेसले चौरजहारी नगरपालिकाबाट भने एक एक जनाको नाम सिफारिस गरेको छ । प्रमुखको उम्मेदवारका लागि प्रेमबहादुर ओली र उप प्रमुखको उम्मेदवारका लागि दिपा डाँगी खड्काको नाम सिफारिस भएको हो । गाउँपालिका तर्फ भने सबै तिरको टुंगिन बाँकी रहेको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पार्टी जिल्लाले टुंग्याउने प्रयास गरिरहेको बुझिएको छ । सबै गाउँपालिकाबाट सिफारिस भएर आइसकेपनि जिल्लाले त्यसमा छलफल गरिरहेको बताईएको छ ।  


 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update