रुकुम पश्चिमका मुख्य दलहरुले भोली मात्रै मनोनयनपत्र दर्ता गर्ने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोली मनोनयन दर्ताको मिति तोकेको थियो । तर दलहरु आज आन्तरिक छलफलमा रहेका कारण भोली मात्रै मनोनयन गर्ने तयारीमा जुटेका हुन् ।
सत्तारुढ गठबन्धन दलहरु गठबन्धनको लागि प्रयासमा छन् । सोही प्रयासपछि आउने निर्णयका आधारमा मात्रै मनोनयन गर्ने योजनामा दलहरु देखिन्छन् । सत्तारुढ गठबन्धन प्रदेश स्तरीय बैठक केही दिनदेखि सुर्खेतमा बसिरहेको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गर्ने निर्णयका आधारमा मात्रै जिल्ला स्थित राजनीतिक दलहरु मनोनयन गर्ने योजनामा छन् ।
नेकपा एमाले, राप्रपा लगायतका दलले पनि भोली नै मनोनयन गर्ने योजनामा देखिन्छन् । सत्तारुढ दलको गठबन्धन नहुने अवस्थामा कतै तालमेल गर्न सकिने आशामा एमाले, राप्रपा लगायतका दलहरु छन् । तर एमाले जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले सम्भव भए आजै र नभए भोलीसम्म मनोनयन गर्ने तयारी गरिरहेको बताउनुभयो । जिल्लाका ६ वटै पालिकामा स्थापना भएका एक मुख्य निर्वाचन अधिकृत र ५ निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरु मनोनयनपत्र दर्ताका लागि उम्मेदवारहरु पर्खेर बसेका छन् ।