नेपाली कांग्रेसले रुकुम पश्चिमको मुसीकोटको प्रमुख र उप प्रमुखको उम्मेदवार टुंग्याएको छ । जिल्लाबाट प्रमुखमा ९ जना र उप प्रमुखमा ६ जनाको नाम कर्णाली प्रदेशमा सिफारिस भएकामा हिजो बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश संसदिय समितिको बैठकले प्रमुख र उप प्रमुखको टुंगो लगाएको हो ।
मुसीकोट नगरपालिकाको प्रमुखमा महेन्द्र केसी र उप प्रमुखमा निर्मला गिरीको नाम टुंगिएको नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । केसी यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट प्रमुखको चुनाव लड्नुभएको थियो । तर उहाँ नेकपा माओवादी केन्द्रका देविलाल गौतम संग १ सय ७४ मतले पराजित हुनुभएको थियो ।
कांग्रेसले मुसीकोटबाट प्रमुखमा केसी सहित सुरतजंग मल्ल, कालुराम खड्का, यज्ञबहादुर बिष्ट, गोरखबहादुर खत्री, काशिराम खड्का, प्रेमबहादुर ओली, टेकबहादुर पुन र शिवराम खत्रीको नाम सिफारिस गरेको थियो । त्यस्तै उप प्रमुखमा गिरी सहित बालकुमारी गिरी, कल्पणा वस्याल, कमला केसी, गोमा नेपाली र मनकुमारी केसीको नाम प्रदेशमा सिफारिस भएको थियो ।
कांग्रेस कर्णाली प्रदेश संसदिय समितिले रुकुम पश्चिमका सबै ६ वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो लगाएको जिल्ला सभापति ओलीले बताउनुभयो ।