आठबीसकोट नगरपालिकाले वडाध्यक्षमाथी भएको हमलाप्रति खेद प्रकट गरेको छ । नगरप्रमुख गोर्खबहादुर केसीले एक प्रेस नोट जारी गरी मेलमिलाप गराउन लागि परेका वडाध्यक्षहरुमाथी नै हमला हुनु दुःखद भएको उल्लेख गर्नुभएको छ । ३ नम्बर वडाध्यक्ष केशरमान विक, ८ नम्बर वडाध्यक्ष मानबहादुर चदारा र ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाहीमाथी आक्रमण गर्नेमाथी कारबाहीको माग नगरप्रमुख केसीले गर्नुभएको छ ।
५ गते बेलुकी दुई पक्षबीच भएको विवाद जिल्लामै मिलाउने सल्ला भएपनि विविध कारणले ६ गते विहान इलाका प्रहरी कार्यालयमा विवाद मिलाउने प्रयास भइरहेका बेला इलाका प्रहरी कार्यालयमा भएको आक्रमण निन्दनिय भएको प्रेस नोटमा उल्लेख गरिएको छ । ५ गते विवाद गरेका दुवैपक्षबीच मिलापत्र भइ कागज लेख्ने क्रम सुरु भइसकेको अवस्थामा खाना खान निस्केका ३ र ८ नम्बर वडाध्यक्षमाथी अराजक व्यक्तिले चक्कु र ढुंगा प्रहार गरेर हमला गरिएपछि स्थिति अनियन्त्रित भएको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यसपछि केही उच्छृङखल व्यक्तिहरुले इलाका प्रहरी कार्यालयमा नै ढुंगा प्रहार गर्दा ३ जना वडाध्यक्ष सहित केही सुरक्षाकर्मी समेत घाइते भएकोप्रति दुःख व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
आफैले नेतृत्व र पहल लिन नसक्ने एउटा पक्षले १४/१५ वर्ष वर्षका बालकलाई मदिरा सेवन गराएर खुँडा तथा चक्कु बोकाएर भिडाउने प्रवृत्तिले गम्भिर नोक्सान हुनेतर्फ नगरप्रमुख केसीले सचेत गराउनुभएको छ । सबै किसिमका विवाद समाधान गर्न आपसी छलफल हुने र दोषिहरुलाई पनि कानून अनुसार कारबाही हुनुपर्ने माग नगरप्रमुख केसीले गर्नुभएको छ । संयमतापूर्वक मेलमिलापको पक्षमा उभिन नगरप्रमुख केसीले सम्बद्ध सबैलाई अनुरोध समेत गर्नुभएको छ । सोमबारदेखि सुरु भएको विवाद मंगलबार दिनभर भएपछि राडीबजारमा निषेधाज्ञा लगाइएको छ ।