Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीको ५२ पदमा १ सय ३९ को उम्मेदवारी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तह  निर्वाचनको लागि ५ राजनीतिक दलले मनोनयन दर्ता गरेका छन् । पालिकाको अध्यक्षमा ५ राजनीतिक दलले मनोनयन दर्ता गराएका हुन् । पालिकाको उपाध्यक्षमा ३ राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । पालिकाको अध्यक्षमा माओवादी केन्द्रका गनेशकुमार केसी, नेपाली कांग्रेसका अमरसिङ खड्का नेकपा एमालेका चोपलाल खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका देविलाल खड्का र  नेकपा एकीकृत समाजवादीका धनराज खड्काले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । पालिकाको उपाध्यक्षमा माओवादी केन्द्र बाट राजकुमारी रेउले, नेपाली कांग्रेसबाट सृष्टि बाँठा र नेकपा एमालेबाट धनकला विष्टले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।  निर्वाचन अधिकृत बस्नेतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिकाको अध्यक्ष पदमा मात्रै मनोनयन दर्ता गराएको छ ।

 एकीकृत समाजवादीले पालिकाको अध्यक्ष पदमा र वडा नम्बर ३ को अध्यक्षमा मात्रै उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष सहित ८ वडाको लागि मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले भने पालिका अध्यक्ष, उपाध्यक्ष सहित १० वटै वडाको लागि मनोनयन दर्ता गराएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका सुन्दर ओली र  वडा नम्बर ८  मा नेपाली काङगे्रसका प्रेमबहादुर खड्काको बागी उम्मेदवारी दिएका छन् । त्रिवेणीमा ५२ पदको लागि १ सय ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update