रुकुम पश्चिमको चौरजहरी नगरपालिकामा चिप्स उद्योग सञ्चालनमा आएको छ । सचेत एग्रिकल्चर प्रालीले ३ नम्बर वडाको घारीकापाखामा दालमोठ तथा चिप्स उद्योग सञ्चालनमा ल्याएको हो । ४० लाखको लगानीमा स्थानीय व्यापारी भिमबहादुर कार्की तेजबहादुर बटाला र वसन्त भण्डारी लगायतका व्यक्तिहरुले उद्योग सञ्चालनमा ल्याएका हुन् । नेपालगञ्ज स्थित खाद्य तथा नापतौल विभागबाट अनुमति पत्र प्राप्त भएपछि दालमोठ तथा चिप्स बजारीकरण गरीने सञ्चालकमध्यका एक भिमबहादुर कार्कीले बताउनुभयो ।
चौरजहारी नगरप्रमुख विशाल शर्माले उद्योगको उद्घाटन गर्नुभएको हो । नगरपालिकामा सवै भन्दा पहिले व्यक्तिगत लगानीमा दालमोठ तथा चिप्स उद्योग सञ्चालनमा ल्याएकामा व्यवसायीलाई धन्यवाद दिँदै नगरप्रमुख शर्माले स्थानीय रुपमा उत्पादन हुने वस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा उद्योगले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख शर्माले नगरपालिकाले केही दिनमा दाना उद्योग,बीउ प्रशोधन केन्द्र, फलफुल तथा तरकारीका विरुवा उत्पादनको लागि टिसिउ उद्योग, गार्मेन्ट उद्योग र जुस उद्योग संचालनमा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।