नेकपा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका एक जनाले सम्पति विवरण सार्जनिक गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको २ नम्बर वडाको अध्यक्षका उम्मेदवार दलबहादुर खड्काले आफ्नो नाममा रहेको चल तथा अचल सम्पतिको विवरण सार्वजनिक गर्नुभएको हो ।
निर्वाचन जितेपछि सार्वजनिक पद धारण गर्नुपर्ने भएको हुँदा आफूले हालसम्म भएको सम्पति सार्वजनिक गरेको खड्काले बताउनुभयो । खड्काका अनुसार हाल उहाँसँग चलअचल सम्पति तीन करोड ९२ लाख ९० हजार छ । यसमा ८१ लाख रुपैयाँ ऋण रहेको छ । ऋण कटाएर आफूसँग तीन करोड ११ लाख ९० हजारको सम्पति रहन आउँछ । विभिन्न व्यवसाय, सेवाबाट कमाएको, पुख्र्यौउली गरी यो सम्पति रहेको खड्काले बताउनुभयो ।
एक करोड २० लाख बराबरका २ घर, एक करोड ३० लाखको अचलन सम्पति जग्गा, एभरेष्ट बहु सेवा प्रालीमा ३० लाख रुपैयाँको शेयर रहेको खड्काले जानकारी दिनुभयो । फेडरल बहु सेवा सूचना प्रविधि इन्भेष्टमेन्ट प्राली र कृषि फार्ममा २४ लाखको शेयर, एभरेष्ट बहु सेवा सूचना प्रविधि इन्सिच्युटमा ५ लाख शेयर रहेको जानकारी उहाँले दिनुभयो । डिग्रे शाईकुमारी सहकारीमा ६० हजार बचत, हाम्रो बचत सहकारी संस्थामा १ लाख ८० हजार रुपैयाँ बचत रहेको उहाँले बताउनुभयो ।
विभिन्न बैंक तथा वित्तिय कम्पनीहरुमा १ लाख ५० हजार शेयर, दश लाखका सुन तथा गहना र विभिन्न बीमा कम्पनीहरुमा प्रिमियम भुक्तानीका लागि २० लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो । उम्मेदवार खड्काले आफूले जितेपछि आउने सेवा सुविधा वडामा सामाजिक सुरक्षा कोष स्थापना गर्ने र उक्त सुविधा कोष मार्फत खर्च गर्ने योजना रहेको सुनाउनुभयो । यो कोष सञ्चालनको जिम्मा विपक्षी पार्टीलाई दिने पनि उहाँले बताउनुभयो । उहाँले निर्वाचित भएपछि आफ्ना परिवारका कोही कसैलाई जागिर नदिने पनि बताउनुभयो ।
सबै परिवारको आय र कमाइको स्रोत समेत देखाउँदै उहाँले आफू नितान्त सामाजिक सेवामा क्रियाशिल रहने बताउनुभयो । आफू निर्वाचित भएपछि कार्यकाल सकिने समयमा पनि आफूले यसैगरी सम्पति विवरण सार्वजनिक गर्ने बताउनुभयो । वडामा उम्मेदवारी दिएका अन्य व्यक्तिहरुसँग सुमधुर सम्बन्ध रहेको भन्दै उहाँले जित जसको भएपनि अन्यत्र जस्तो असहयोग नहुने बताउनुभयो । निर्वाचनका क्रममा पनि तडकभडक, अनावश्यक खर्च नगर्ने उहाँको भनाई छ ।
यस्तो अभ्यास वडामा यस अघि पनि पटक पटक भइसकेको उहाँले बताउनुभयो । ४१ वर्षीय खड्काले विभिन्न १० वटा सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नु भएको छ । उहाँ हाल नेकपा माओवादी केन्द्र मुसीकोट नगरको उपाध्यक्ष हुनुहुन्छ ।