रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ थारकाट्टेमा सामुदायिक स्वास्थ्य इकाई सुरु भएको छ । साविक पिपल गाविस ८ र ९ नम्बर वडाको बीच भाग थारकाट्टेमा स्वास्थ्य इकाई सुरु गरिएको हो । वडाध्यक्ष धनबहादुर खत्रीले स्वास्थ्य इकाई को सुरुवात गर्नुभएको हो । स्वास्थ्य इकाइबाट अब आधारभुत उपचार हुने वडाध्यक्ष खत्रीले बताउनुभयो । सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो । २ नम्बर वडामा यस अघि एउटा मात्रै स्वास्थ्य चौकी रहेको थियो । स्वास्थ्य चौकी पुग्न टाढा भएकाले स्वास्थ्य इकाई स्थापना गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाईबाट अब ओपीडी अन्तर्गका सबै साधारण उपचार सेवा, पोषण सेवा, खोप, परिवार नियोजन लगायतका सेवा प्रवाह हुने स्वास्थ्य चौकी पिपलका इन्चार्ज नारायणचन्द्र गिरीले बताउनुभयो । गाउँ कार्यपालिकाको निर्णय अनुसार थारकाट्टेमा स्वास्थ्य इकाई सुरुवात गरिएको गिरीले बताउनुभयो । स्वास्थ्य इकाइमा हाल एक जना अहेबले सेवा प्रवाह गर्ने गरी व्यवस्थापन गरिएको छ । स्वास्थ्य इकाई सुरुवातसँगै सेवा पनि सुरु भएको छ ।
पहिलो दिन कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । २ सय ५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको अहेब बबिता खड्का खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य इकाई सुरुवातसँगै सेवा प्रवाह सुरु भएको र यस सर्वसाधारणलाई सजिलो हुने अहेब खत्रीको भनाई छ । इकाई सुरुवात कार्यक्रममा बाँफिकोट कार्य पालिका सदस्य मनबहादुर वादी, शिक्षक, बुद्धिजिवि, साविकका दुई वडाका सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नारायणचन्द्र गिरीले गर्नुभएको थियो ।