Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकाेटमा माओवादी केन्द्र र नेकपा एसकाे संयुक्त चुनावि अभियान सुरु 
मुसीकाेट २ काे समिबाेटमा आयोजित चुनावि सभा।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले रूकुम पश्चिमकाे मुसीकोट नगरपालिकामा स्थानीय तहको चनाव लक्षित संयुक्त अभियान सुरु गरेका छन् । स्थानीय तहकाे चुनावमा मुसीकाेटमा गठबन्धन गरेका यि दुइ दलले आज वडा नम्बर २ बाट चुनावि अभियानको सुरुवात गरेका हुन् । वडाको समिबोटमा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको उपस्थितिमा चुनवि सभा गरिएको छ । निर्वाचन परिचालन समिति मुसीकोट २ का अध्यक्ष विष्णुप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीको प्रमुख र प्रदेश समिति सदस्य बुद्धिप्रसाद गौतमको विशेष आतिथ्यता रहेको थियो ।

चुनावि सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारकी पूर्व मन्त्री समेत रहनुभएकी बिमला केसीले विकासका लागि माओवादीको विकल्प नभएको बताउनुभयो । माओवादीको नेतृत्वमा रुकुम पश्चिममा विकासकाे जग बसेको र अव त्यसलाई पुरा गर्नका लागि पनि माओवादीको जीत हुनुपर्ने उहाँले बताउनुभयो । माओवादी शान्ति प्रक्रियामा आएपछि नै रुकुममा विकासको लहर चलेको र अव त्यसलाई गुणात्मक रुपमा बृद्धि गर्दै लैजाने गरी योजना बनकोमा त्यसका लागि माओवादीका उम्मेदवारले जित्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै पार्टीका प्रदेश समिति सदस्य बुद्धिप्रसाद गौतमले विकास हेर्ने हो भने माओवादीले जितेका र अन्य दलले जितेका वडा हेरे पुग्ने बताउनुभयो । त्यस्तै मुसीकोट नगर प्रमुखका उम्मेदवार बसन्तकुमार शर्माले माओवादीलाई अमुल्य भोट दिएर जिताउन जनता आतुर रहेको बताउनुभयो । समानुपातिक विकास र दीगो विकासका लागि अव पनि मुसीकोटको नेतृत्व माओवादीले गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै विकासको जग बसालेको र अव तिनलाई पूर्णता दिन तथा दिगो बनाउन र जनताको आर्थिक समृद्धि हाँसिल हुने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उप प्रमुखका उम्मेदवार विमलकुमार पुनले पनि मुसीकोटको समग्र विकासका लागि आफुहरु मिलेर चुनावि मैदानमा उत्रिएको बताउनुभयो । आफुहरु दुवै जना सक्षम व्यक्तित्व भएकाले आफ्नो अमुल्य मत दिएर जिताई समृद्ध नगर निर्माणको अभियानमा जोडिन उहाँले २ नम्बर वडावासीलाई अनुरोध समेत गर्नुभयो । वडाध्यक्षका उम्मेदवार दलबहादुर खड्काले आफुले वडाको कायापलट हुने गरी योजना निर्माण गरेको र उक्त योजना केही दिनमा सबै वडावासीका घरघरमा पुर्याउने बताउनुभयो । त्यसलाई राम्ररी अध्यन गरेर आफुलाई भोट दिन उहाँको आग्रह छ ।

आफुले जितेमा वडामा व्याप्त वेरोजगारी अन्त्य गर्ने देखि वडावासीको सामाजिक, साँस्कृतिक विकासमा विशेष जोड दिने सम्मका योजना रहेको उहाँले सुनाउनुभयो । ‘वडा हरेक विकासमा पछि परेको छ, अव तपाई हामी सबै मिलेर वडाको विकास गरौं, ५ वर्ष वडाको विकास गरेकाहरुको अवस्था पनि हेर्यौं, उहाँले भन्नुभयो, म वडाको विकासका लागि प्रतिवद्धता जनाउँछु, लेखेर राख्नुहोस् यदी मैले प्रतिवद्धता पुरा गरेन भने सबैका विचमा आएर माफि माग्ने छु ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता गोप्यश्वर केसी राकेशको पनि सहभागिता रहेको थियो । सभामा कलाकार अमित परियारको टोलीले साँस्कृतिक प्रस्तुति समेत राखेको थियो । कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र मुसीकोट २ का अध्यक्ष रमेश खड्काले गर्नुभएको थियो । माओवादी केन्द्रले आजै मुसीकोट ३ को पिपलनेटामा पनि चुनावी कार्यक्रम गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update