वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै छ । देशभरमा चुनावी सरगर्मी बढेको छ । केन्द्रमा ५ दलिय सत्ता गठबन्धन बनेको छ भने सोही अनुसार जिल्ला जिल्लामा पनि गठबन्धन बनेका छन् । केही जिल्लामा गठबन्धन बन्न सकेको छैन् भने केही जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरु भन्दा बाहिर गएर पनि गठबन्धन बनेको छ । आज हामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा दलहरुको अवस्था कस्तो थियो भन्ने विषयमा चर्चा गर्दै छौं ।
रुकुम पश्चिममा तीन नगरपालिका र ३ गाउँपालिका गरी कुल ६ वटा स्थानीय तह छन् । जिल्लाका ६ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको थियो । सबै पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष उपाध्यक्ष सहित जिल्लाका कुल ७३ वटा मध्यमा ५८ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।
कुन स्थानीय तहमा कुन दलका उम्मेदवारले कति मत ल्याएका थिए त ? अव यसमा चर्चा गरौं ।
मुसीकोट नगरपालिका
जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकामा माओवादी र कांग्रेसको कडा प्रतिस्पर्धा छ । गत स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट देविलाल गौतम कांग्रेसका महेन्द्र केसीलाई जम्मा १ सय ७४ मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि केसीले ४ हजार १ सय ७४ मत पाउनुभएको थियो । उपप्रमुखमा पनि माओवादी केन्द्रकी प्रेमकुमारी सुनार ४ हजार ४ सय ७९ मत सहित विजयी हुँदा कांग्रेसकी बालकुमारी गिरीले ४ हजार १ सय ५८ मत पाउनुभएको थियो । मुसीकोटमा तेस्रो बनेको एमालेका बिमलकुमार पुनले प्रमुखमा २ हजार ३ सय ५८ मत ल्याउदा उप प्रमुखकी उम्मेदवार केशरी गौतमले २ हजार १ सय ४७ मत पाउनुभएको थियो । मुसीकोटका १४ वटा वडा मध्येमा माओवादीले ९ र कांग्रेसले ५ वडा जितेको थियो ।
चौरजहारी नगरपालिका
जिल्लाको अर्को नगरपालिका चौरजहारीमा माओवादी केन्द्रका विशाल शर्माले जित हात पार्नुभएको थियो । ५ हजार ४ सय २० मत सहित नगर प्रमुखमा विजयी हुँदा कांग्रेसका बलबिर गोसाईले ३ हजार २ सय ४ मत पाउनुभएको थियो । यस नगरपालिकामा एमालेका शेरबहादुर केसीले २ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा पनि माओवादीले जितेको थियो । राधा रोकाले ५ हजार ३ सय २५ मत ल्याएर जित्दा कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४८ मत पाउनुभएको थियो । तेस्रो बनेको एमालेकी कल्याणी खड्काले २ हजार ४ सय १३ मत पाउनुभयो । कुल १४ वटा वडा रहेको चौरजहारीमा माओवादीले १० वटा, कांग्रेसले ३ वटा र एमालेले एउटा वडामा जीत हात पारेको थियो ।
आठबीसकोट नगरपालिका
माओवादीले नै जितको अर्को स्थानीय तह हो आठबीसकोट नगरपालिका । कुल १४ वडा रहेको यस नगरपालिकामा माओवादीले नगर प्रमुख, उपप्रमुख सहित १२ वडा जितेको थियो । २ वडामा कांग्रेसका उम्मेदवार विजयी हुँदा एउटा वडा भने एमालेले जितेको थियो । प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी ५ हजार ४ सय ८९ मत सहित विजयी हुँदा कांग्रेसका धिरेन्द्रकुमार बटालाले ३ हजार ५ सय ९६ मत पाउनुभएको थियो । एमालेका हरिप्रसाद शर्माले प्रमुखमा २ हजार ४ सय ६० मत ल्याउनुभएको थियो । उपप्रमुखमा माओवादीकी गीता नेपाली ५ हजार ६ सय १८ मत सहित विजयी हुनुभएको थियो । कांग्रेसकी अनिता बुढाले ३ हजार १ सय ८७ र एमालेकी अमृता कुमारी शाही हमालले उपप्रमुखमा २ हजार ७ सय ८६ मत पाउनुभएको थियो ।
बाँफिकोट गाउँपालिका
कांग्रेस र एमालेको गठबन्धन हुँदा पनि माओवादी केन्द्रले जितेको स्थानीय तह हो बाँफिकोट गाउँपालिका । कांग्रेस र एमाले मिल्दा पनि साढे ७ सय मतान्तरले यस गाउँपालिकामा माओवादीका धर्मबहादुर केसी निर्वाचित हुनुभएको थियो । केसीले ३ हजार ५ सय ६४ मत ल्याउदा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जनककुमार बाँठाले २ हजार ८ सय १३ मत ल्याउनुभएको थियो । उप प्रमुखमा पनि माओवादी विजयी भएको थियो । ३ हजार ५ सय ८९ मतले उपाध्यक्षमा मनकला पुनले जित्दा गठबन्धनका तर्फबाट एमालेकी व्युझना पुनले २ हजार १ सय २ मत पाउनुभएको थियो । अर्को रोचक कुरा त के भने यस गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन हुँदा पनि १० वडा मध्ये एक जना वडा सदस्य निर्विराध बाहेक सबै वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका थिए ।
सानीभेरी गाउँपालिका
जिल्लाको मध्य भागमा रहेको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट नरबहादुर पुन निर्वाचित हुनुभएको थियो । ४ हजार ६ सय ५० मत सहित जीत हात पार्दा कांग्रेसका गोर्खबहादुर चन्दले २ हजार ६ सय १७ मत ल्याउनुभएको थियो । २०७४ को मतपरिणाम अनुसार नेकपा एमाले सबैभन्दा कमजोर यही स्थानीय तहमा देखिएको थियो । यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनविर घर्तीले ५ सय ५६ मत पाउनुभएको थियो । उपाध्यक्षमा माओवादीकी इन्दीरा ओलीले ४ हजार ६ सय ६१ मतका साथ विजयी हुनुभयो । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा ओलीले २ हजार ६ सय ३ मत ल्याउदा एमालेकी उपाध्यक्षकी उम्मेदवार लक्ष्मी पुनले ५ सय ९९ मत ल्याउनुभएको थियो । कुल ११ वडा रहेको सानीभेरीमा माओवादीले १० वडा र कांग्रेसले एउटा मात्र वडामा जित हाँसिल गरेका थियो ।
त्रिवेणी गाउँपालिका
जिल्लाका तीन गाउँपालिका अन्तरगतको अर्को गाउँपालिका हो त्रिवेणी । यस गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र १० मध्ये ८ वडामा माओवादीले जितेको थियो । अध्यक्षमा झक्कुप्रसाद घर्ती ३ हजार ९ सय ५८ र उपाध्यक्षमा निर्मला बिष्ट ३ हजार ९ सय ८० मत सहित विजयी हुनुभएको थियो । अध्यक्षमा कांग्रेसका देवबहादुर ओलीले २ हजार ६ सय ६३ मत ल्याउदा एमालेका गणेश खड्काले ६ सय ५२ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा कांग्रेसकी देवी पुनले २ हजार ६ सय ५२ र एमालेकी कुवली ओलीले ६ सय ७७ मत ल्याउनुभएको थियो ।