नेकपा माओवादी केन्द्र चौरजहारी रुकुम पश्चिमले प्रतिबद्धता सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले प्रतिबद्धता सार्वजनिक गरेको हो । माओवदी केन्द्रको तर्फबाट नगर प्रमुखका उम्मेदवार पुष्प वादीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
विभिन्न १७ बुँदामा विस्तृत योजना सहितको प्रतिबद्धता सार्वजनिक भएको हो । शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवामा के के गर्ने भनेर प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । खाद्य तथा आवास, सडक तथा यातायात, उर्जा विकास, सञ्चार, खानेपानी र सरसफाइको क्षेत्रमा बनाइने नीति र गरिने कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । रोजगारी, कला संस्कृति, पर्यटन विकास, सामाजिक न्याय, न्याय तथा कानूनी सेवाका बारेमा पनि माओवादीले प्रतिबद्धता गरेको छ ।
सामाजिक न्याय, न्याय तथा कानूनी सेवा, वन तथा वातावरण, औद्योगिकरणको सन्दर्भमा पनि माओवादी केन्द्रले आफूले ५ वर्ष सम्म गर्ने कार्यहरु बारे बताएको छ । सहिद, घाइने, बेपत्ता र पूर्व जनमुक्ति सेना, सुशासनका सन्दर्भमा पनि माओवादीले आफ्नो धारणा राखेको छ । यी १७ शीर्षकमा विस्तृत कार्यक्रम बनाएर उम्मेदवार वादीले सार्वजनिक गर्नुभएको हो ।
हाल चलिरहेको ५ वर्षे स्थानीय सरकारले खडा गरेको जगका आधारमा चौरजहारीको समृद्धिका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको वादीले बताउनुभयो । आत्मनिर्भर, एकताबद्ध र समृद्ध नगर निर्माण, चौरजहारी नगरबासीको पहिचान नारालाई थप सार्थक बनाउन यी प्रतिबद्धता सहायक सिद्ध हुने वादीले बताउनुभयो ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा उप्रमुखकी उम्मेदवार इश्वरीकुमारी शर्मा विएम, माओवादी केन्द्रीय सदस्य गोपाल शर्मा, नेता ऋषिप्रसाद शर्मा, विरेन्द्र विएम, कर्णाली प्रदेश तथा जिल्लाको प्रचार विभाग प्रमुख ध्रुविक्रम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एलबी कटुवालले गर्नुभएको थियो ।