Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेसले वडातहका विरोध कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले देशभर गर्ने भनिएको कार्यक्रम रुकुम पश्चिममा भने नगर्ने भएको छ । जिल्लाको विशेष कार्यक्रम तय गर्ने भन्दै नेपाली कांग्रेसले वडा स्तरसम्मको विरोध कार्यक्रम नगर्ने भएको हो । नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओलीले एक विज्ञप्ती जारी गरी माघ ८ गते हरेक वडामा तय भएको विरोध कार्यक्रम नहुने जानकारी गराउनुभएको हो । कांग्रेसले यस अघि नै देशभरका वडामा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

स्थानीय तहमा भइरहेको भ्रष्टाचार, आठबीसकोट नगरपालिकामा भएको हमलाका विषयमा थप रणनीति बनाउने र त्यसै अनुसार कार्यक्रम गर्ने गरी भोलीको कार्यक्रम स्थगित गरिएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । भोलीको विरोध कार्यक्रम स्थगित गरी स्थानीय मुद्दामा बढी केन्द्रीत भएर केन्द्रीकृत कार्यक्रम गर्ने तयारी भइरहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा आठबीसकोट नगरपालिकामा आफ्ना कार्यकर्ता विरुद्ध नेपकाका कार्यकर्ताले आक्रमण गरेको दावी गरिएको छ । पार्टीको वडा स्तरीय कार्यक्रममा जुटेका कार्यकर्तामाथी नेकपाका कार्यकर्ताले हमला गरेको सभापति ओली विज्ञप्ती मार्फत जनाउनुभएको छ ।

इलाका प्रहरी कार्यालय भित्रै नेकपाका कार्यकर्ताले बोत्तल तथा खुकुरी प्रहार गरी कांग्रेस नेता तथा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, नेविसंघ उपाध्यक्ष तेजविक्रम आरसी, र कांग्रेस कार्यकर्ता दिपक केसीलाई घाइते बनाएको र नेपालगञ्जमा उपचार भइरहेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । सभापति ओलीले जिल्लामा कांग्रेसप्रति देखिएको जनलहरका कारण आत्तिएको नेकपा कुटपिटमा उत्रिएको जिकिर गर्नुभउको छ । आठबीसकोटमा भएको हमला नेपालको संविधान विपरी र संविधानको ठाडो उलंघन भएकाले दोषिलाई कानूनी कारबाहीका लागि माग समेत गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update