वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा मतपत्र आईपुगेको छ । जिल्लामा आज बिहान मतपत्र आईपुगेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । जिल्लाका लागि आवश्यक मतपत्र जिल्ला आईपुगेको र उक्त सामग्रि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाईएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बिद्याराज पौडेलले मतदान केन्द्र अनुसार मतपत्र भाग लगाउने काम भइरहेको बताउनुभयो ।
मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र पठाउनुपर्ने व्यवस्था रहेको छ । जिल्ला भरका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेको र निर्वाचनको दिन भन्दा ३ दिन अगाडी सम्बन्धीत ठाउँसम्म मतपत्र पठाईसक्नुपर्ने पौडेलले बताउनुभयो । जिल्लाभरका मतदान अधिकृतहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर सुरक्षा व्यवस्थाका विच लैजाने छन् । त्यस्तै अन्य निर्वाचन सामग्रिहरु पनि आईपुगेको छन् ।
जिल्ला निर्वाचन अधिकारी मल्लका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्रिको व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै मतदाता नामावली परिचय पत्र पनि आईपुगेका छन् । त्यसलाई पनि सबै मतदान केन्द्रसम्म पठाउनका लागि तयारी भइरहको मल्ले बताउनुभयो । यसका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित अन्य कर्मचारीको तालिम समेत केही दिनमा संचालन हुने उहाँको भनाई छ । निर्वाचनका लागि आवश्यक सबै तयारीलाई तिव्र पारिएको उहाँले बताउनुभयो ।