रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्ष र वडा सदस्यका ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा माओवादी केन्द्रका वडाध्यक्ष र नगर प्रमुख तथा उप प्रमुखका उम्मेदवारलाई समर्थन गर्दै विभिन्न वडाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएकाहरुले माओवादी लोकप्रिय र विकासप्रेमी तथा समाजमा उत्पिडनमा परेका मान्छेहरुको पक्षमा वकालत गर्ने पार्टी रहेको बताएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर ४ को वडा सदस्यका उम्मेदवार डिले पुन रहनुभएको छ ।
उहाँले माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार गोपाल भण्डारी लगायत नगर प्रमुख र उपप्रमुख सहितका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको हो । नेकपा एमाले र नेपाली काँग्रेसको तर्फबाट चौरजहारी नगरपालिका वडा नं. ७ को सदस्य पदका ३ जना उम्मेद्वारले पनि माओवादीका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार टिकाराम नेपाली र इन्द्रबहादुर सार्की तथा कांग्रेसबाट दलित महिला सदस्य शान्ता बिकले उम्मेदवारी फिर्ता लिनुभएको हो । नेपाली काँग्रेसको तर्फबाट चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदका उम्मेद्वार राधिका सार्की, सोही वडामा वडाअध्यक्षका स्वतन्त्र उम्मेद्वार अजिपकुमार मल्लले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वडा नम्बर १ को अध्यक्षका उम्मेदवार वीरबहादुर गिरी, सोही पार्टीबाट सोही वडाको सदस्यका उम्मेदवार बालकृष्ण गिरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । १ नम्बर वडामै नेकपा एमालेबाट वडा सदस्यका उम्मेद्वार खिमप्रसाद शर्माले पनि नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ ।