रुकुम पश्चिममा मतदाता संख्या बढेको छ । २०७४ सालको तुलनामा हाल झण्डै १० हजार बढी मतदाता संख्या बढेको देखिएको छ । निर्वाचन आयोगले पठाएको विवरण अनुसार हाल जिल्लामा ९३ हजार २ सय ३५ जना मतदाता रहेका छन् । २०७४ सालमा रुकुम जिल्ला सिंगो थियो । त्यतिबेला कुल मतदाता संख्या १ लाख १५ हजार ८ सय ७२ रहेको थियो । तर हाल सिंगो रुकुम जिल्ला पश्चिम र पूर्व गरी दुई जिल्लामा विभाजन भएको छ ।
रुकुम पूर्वको मतदाता संख्यालाई घटाउँदा हालको रुकुम पश्चिममा २०७४ सालमा मतदाता संख्या ८४ हजार ३२ रहेको थियो । तर हाल त्यो बढेर ९३ हजार २ सय ३५ पुगेको हो । जिल्लामा ९ हजार २ सय ३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो गत पुष ५ गतेसम्मको तथ्यांक हो । निर्वाचन घोषणा भएको दिन पुष ५ गतेदेखि भने नयाँ मतदाता नामावली दर्ता बन्द गरिएको छ । माघ १५ गते मतदाता नामावली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म त्रुटी सच्याउनका लागि मतदाताहरुले निवेदन दिन सक्ने निर्वाचन कार्यालयको भनाई छ ।
त्यस्तै निर्वाचन आयोगले जिल्लामा ७३ मतदान स्थल र १ सय २१ मतदान केन्द्र प्रस्ताव गरेको छ । जिल्लाको मतदाता संख्याका आधारमा यसअघि भन्दा बढी मतदान केन्द्र रहने गरी आयोगले प्रस्ताव गरेको र यसमा जिल्लामा छलफल चलिरहेको जिल्ला निर्वाचन अधिकारी सुमन पन्थले जानकारी दिनुभयो । मतदान स्थल र मतदान केन्द्रका बारेमा सुझाव पेश गर्न स्थानीय तह र क्रियाशिल राजनितिक दलहरुलाई पत्राचार गरिएको छ ।
साविकका मतदान स्थल तथा केन्द्रहरुको नाम, ठेगाना, भौतिक पूर्वाधार लगायतका पक्षलाई ख्याल गर्दै गर्नुपर्ने सुधार, परिमार्जन के छ सुझाव पेश गर्न ६ वटै स्थानीय तह र जिल्लामा क्रियाशिल राजनितिक दलहरुलाई पत्राचार गरिएको पन्थले बताउनुभयो । यसअघि जिल्लामा ७३ मतदान स्थल र १ सय ११ मतदान केन्द्रहरु रहेका थिए ।