Kakhara सबैको खबर सम्पूर्ण खबर
वडाध्यक्षका उम्मेदवार खड्काद्धारा वैयक्तिक विवरण सार्वजनिक, वडाध्यक्षका लागि सक्षम रहेको भनाई 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ को अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका दलबहादुर खड्काले आफ्नो वायोडाटा अर्थात वैयक्तिक विवरण सार्वजनिक गर्नुभएको छ । पार्टीबाट टिकट लिएर चुनावमा होमिनुभएका खड्काले आफ्नो शैक्षिक योग्यता सहित हालसम्मको कार्य अनुभव सहितको विवरण सार्वजनिक गर्नुभएको हो । 

खड्काले सबै कुरामा आफु वडाका अन्य पार्टीका उम्मेदवार भन्दा सक्षम र बलियो रहेको दाबी गर्नुभएको छ । वडाको समग्र विकासका लागि कार्यशैली, कार्य अनुभव, समन्वय, केन्द्रसम्मको पहुँच लगायतमा आफु अब्बल रहेको दाबी खड्काको छ । आफुलाई माओवादीले मात्र नभई सबै वडावासीले मत हालेर विजयी गराउने खड्काको विश्वास छ ।

खड्काले सार्वजनिक गरेको वैयक्तिक विवरण अनुसार उहाँले म्यानेजमेन्ट र डिजास्टर म्यानेजमेन्टमा स्नातकाेत्तर तहकाे अध्यन पुरा गर्नुभएको छ । खड्का २०५१ साल देखि अनेरास्ववियू क्रान्तिकारीमा संगठित हुँदै नेकपा माओवादी केन्द्र रुकुमको जिल्ला सदस्य बन्नुभएकामा हाल मुसीकोट नगर समितिको उपाध्यक्ष हुनुहुन्छ । उहाँले पशुपति मावि रातामाटाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा २०६३–२०६५ र २०६५–२०७६ सम्म काम गर्नुभएको थियो । 

२०६२–२०७४ सम्म नेपाल रेडक्रस सोसाईटी रुकुमको कोषाध्यक्ष र उपाध्यक्ष, २०७१ देखि हालसम्म नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको जिल्ला अध्यक्ष र प्रदेश सदस्य, २०७७ साल देखि हालसम्म रुकुम उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा २०७३ साल देखि हालसम्म कम्प्युटर एशोसियसन महासंघ नेपालको केन्द्रीय सदस्य र केन्द्रीय सचिवको रुपमा खड्का कार्यरत हुनुहुन्छ । 

त्यस्तै आफुले अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा पनि काम गरेको खड्काले एक विज्ञप्ती जारी गरेर जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update