Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्को पटक सिस्नेमा भोट माग्न आउँदा गाडी चढेर आउँछौंः अध्यक्षका उम्मेदवार रेग्मी
सिस्नेकाे पाखापानीमा भएकाे चुनावी सभा ।

रूकुम पूर्वकाे सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले सिस्नेका जनतालाई विकासको अनुभूति गराउने प्रतिवद्धता गर्नुभएको छ । आइतबार वडा नम्बर १ सिस्नेको पाखापानीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले यस्तो प्रतिवद्घता गर्नुभएकाे हाे । गाउँपालिकाकै दुर्गम १ नम्बर वडालाई सडक सञ्जालमा जोडन आफनो पहिलो प्राथमिकता हुने रेग्मीकाे भनाइ छ ।

यातायात नै विकासको मेरुदण्ड हो रेग्मीले भन्नुभयो, मेरो कार्यकालमा सिस्नेलाई जसरी भएपनि सडक सञ्जालमा जोडछु । ५ वर्ष पछि सिस्नेमा भोट माग्न आउँदा गाडिमा चढेर आउने वातावरण बनाउने उहाँले बताउनुभयाे । यस्तै सिस्नेका सबै गाउँमा विद्युतिकरण  गर्ने, स्तरिय  विद्यालयका भवन र दक्ष जनशक्तिको व्यवस्था गर्ने प्रतिवद्घता रेग्मीले सिस्नेका जनतासँग व्यक्त गर्नुभयाे ।  

आफुहरु निर्वाचित भएको पहिलो वर्षमा भट्टेचाैरमा रहेको स्वास्थ्य चौकीलाई व्यवस्थित गर्ने, पाखापानीमा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई सञ्चालनमा ल्याउने, सबै बस्तिमा विद्युत र खानेपानीको पहुँच पुर्याउने उहाँले बताउनुभयो । यस्तै उपाध्यक्षका उम्मेद्धार आस्था विकले सबै बस्तिमा खेलकुद र खेलमैदानको व्यवस्था गर्ने बताउनुभयो । यस्तै  कृषिमा अनुदानको व्यवस्था गर्ने, पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता पनि जनाउनुभयाे ।

हरेक कार्यक्रममा महिलाको सहभागिता बढाउन र विकास निर्माणमा महिलालाई जोडन विशेष आर्थिक प्याकेजको पनि व्यवस्था गर्ने विकको भनाई छ ।  सिस्नेमा हुने विभिन्न विपद व्यवस्थापन नियन्त्रण र युवालाई उत्पादनका क्षेत्रमा जोडन ध्यान दिने उहाँहरुले बताउनुभएको छ ।

सिस्नेको समृद्धि र विकासको लागि माओबादि केन्द्रका उम्मेद्धारलाई भोट दिन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुबोधराज सिर्पालीले अनुरोध गर्नुभएको छ । सिस्नेमा अहिलेसम्म भएका सवै विकास निर्माणका कामहरु माओवादीले गरेको सिर्पालीले स्मरण गराउनुभयो ।

सिस्नेमा निर्माण भएका टेलिफोन टावर, विद्युत, पुल, शिक्षा, स्वास्थ्य लगायत सबै विकासको जग माओवादीले नै बसालेको उहाँले दाबी गर्नुभयो । किसानका उत्पादन बजारसम्म पुर्याउन र दुर्गम सिस्नेलाई सुगममा रुपान्तरण गर्न माओवादी केन्द्रका उम्मेद्धारहरुलाई विजय गराउन सिस्नेली जनतालाई उहाँले अपिल गर्नुभएको थियाे ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update