Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा नमुना मतदान (फोटो फिचर)

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नमुना मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले मुसीकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान भएको हो । मतदाताहरुलाई मतदानका बारेमा जानकारी गराई बदर मतलाई कम गर्ने उदे्श्यले नमुना मतदान कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । नमुना मतदानमा उहाँका अनुसार कुल ८४ जनाले सभागिता जनाएका छन् । जसमध्येमा ८ वटा मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । ७६ मत भने सदर भएको उहाँको भनाई छ । 

निर्वाचन शिक्षाको अभावमा कसरी मतदान गर्ने भनेर थाहा नपाउँदा धेरै मत बदर हुने अवस्था रहेकोले मतदाताहरुलाई मतदानका बारेमा जानकारी गराउने नमुना मतदान कार्यक्रम भएको उहाँले बताउनुभयो । नमुना मतदानका क्रममा वास्तविक मतदानमा जस्तो हुन्छ त्यस्तै प्रक्रिया अपनाईएको थियो ।

मतदाता नामावली रुजु देखि मत खसालेर बाहिर निस्किने सम्मको व्यवस्था वास्तविक मतदानको बेला जस्तो हुन्छ त्यस्तै गरी मिलाईएको निर्वाचन अधिकारी मल्लले बताउनुभयो । नमुना मतदानका क्रममा के गर्यो भने मत बदर हुन्छ, कसरी मत पत्रमा छाप लगाउने, उक्त मत पत्रलाई कसरी पट्याएर मत पेटिकामा राख्ने र बाहिर कसरी निस्किने सम्मको प्रक्रियाका बारेमा जानकारी गराईएको थियो ।

यो पटक निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यकर्ताहरु परिचालन नगरिएका कारण मत बदर संख्या बढ्ने हो की भन्ने चिन्ता गरिएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update