सही, शुद्ध र पाच्य आचारणको लिपिवद्ध दस्तावेज आचारसंहिता हो । विषय, क्षेत्र र आवश्यकताअनुसार आचरणको स्वरुप र प्रकृति फरक हुन्छ । अनुशासन, सम्भ, मान्य र समानता कायम गर्ने कसीका रूपमा समेत आचारसंहितालाई लिन सकिन्छ । गलत प्रवृत्ति अवलम्बन गर्नेलाई आचारसंहिताले निरुत्साहित पनि गर्छ । आचारसंहिता निर्वाचनका सन्दर्भमा पनि लागू हुन्छ । निर्वाचनमा के गर्न मिल्छ के गर्न मिल्दैन भन्ने कुरा पनि बुझ्न जरुरी छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारले निर्वाचन आचारसंहिता, २०७८ जारी गरेको छ ।
निर्वाचन आचारसंहिता किन ?
आचारसंहिता नैतिक विषयवस्तु समेटिएको एक दस्तावेज हो । यसले नैतिक रूपमा जिम्मेवार बनाउछ । अनैतिक र अभद्र व्यवहारलाई निरुत्साहित गर्छ । समानता र न्यायको अनुभूति दिलाउँछ । विवेकशीलताको प्रवर्धन गर्छ । तुच्छ, निच र घृणित व्यवहारलाई दण्डित गर्छ ।
निष्पक्षता, तठस्थता, पारदर्शिता र जवाफदेहिता निर्वाचनका मुख्य सिद्धान्तहरू हुन् । यी सिद्धान्तहरूलाई आत्मसाथ गर्न आचारसंहिताले कानुनी र नैतिक बन्धन कायम गर्छ । भडकिलो र अमर्यादित हुनबाट निर्वाचन आचारसंहिताले रोक्छ । विभिन्न प्रभाव र दबावबाट मतदातालाई मुक्त बनाउनु निर्वाचन आचारसंहिताको मुख्य कार्य हो । मतदाताको स्वविवेक अपहरण हुनबाट जोगाउने रक्षा कवचको काम समेत यसले गर्छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता आवश्यक छ ।
आचारसंहिताको कार्यान्वयनले निर्वाचन निष्पक्ष हुन्छ । त्यसैगरी लोकतान्त्रिक शासन व्यवस्था सुदृढ पनि । गोप्य मतदानबाट मतदाताको इच्छा अभिव्यक्त हुन्छ । यसले स्वतन्त्र अभिव्यक्तिको रक्षा गर्न मद्दत गर्छ । स्वच्छ, स्वतन्त्र, समान मताधिकार, गोप्य मतदान, पारदर्शी मतगणना तथा निर्वाचन परिणाम घोषणा लगायतका कार्यका लागि निर्वाचन आचारसंहिताको भूमिका अहम् छ ।
निर्वाचन आचारसंहितामा के छ ?
स्थानीय तहको दोस्रो निर्वाचन वैशाख ३० गते हुदैछ । राजनीतिक दलका चुनाव लक्षित कार्यक्रमहरू तीव्र बनेका छन् । निर्वाचन आयोग अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावलीसहित चुनाव चिन्ह प्रदान भइसकेको छ । नेता कार्यकर्ताहरूलाई जनताको मन जित्न भ्याइ नभ्याइ छ । व्यस्तता बढेको छ । जसरी पनि मत परिणाम आफ्नो पक्षमा पार्ने कसरत चलेको छ । कृषकहरूलाई धान रोपाइको चटारो जस्तै राजनीति गर्नेहरूका लागि निर्वाचनको चटारो छ । कहिल्यै मतदाताको गाउँ र आँगन नपुगेकाहरू पनि घरघर पुग्न थालेका छन् । यसअघि कुनै वास्ता नगर्नेहरू पनि हात जोड्दै नमस्कार भन्न थालेका छन् । उम्मेदवारहरूका ओठमुख सुख्खा भएका छन् । यसले भोटको महत्त्व र जनताको तागतको पुष्टि गरेको छ ।
मतदाताको अमूल्य भोट अपवित्र सौदाबाजीमा प्रयोग हुनुहुदैन । निर्वाचन निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न हुनुपर्छ । त्यसका लागि नेपाल सरकारले निर्वाचन आचारसंहिता, २०७८ जारी गरेको छ । २०७८ चैत्र २५ गतेदेखि स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । ६८ पृष्ठको निर्वाचन आचारसंहितामा निर्वाचनका क्रममा गर्न मिल्ने र नमिल्ने कार्यहरू छन् । नौं परिच्छेद रहेको आचारसंहितामा ५ वटा अनुसूचीसमेत छन् ।
निर्वाचन भयरहित, स्वच्छ र मर्यादित हुन एक्लो प्रयासबाट मात्रै सम्भव छैन । सबै पक्ष जिम्मेवार र प्रतिवद्ध हुन जरुरी छ । आचारसंहिताको परिच्छेद २ मा सबैले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ । जसमा विद्यालयमा निर्वाचन भेला नगर्न नहुनेदेखि मतदाता र निर्वाचनमा खटिएका कर्मचारीसँग वादविवाद गर्न नहुनेसम्मका २० वटा बुँदा उल्लेख गरिएको छ ।
परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणहरू रहेका छन् । जसमा सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीले पालना गर्नुपर्ने आचरणदेखि गैरसरकार सङ्घसंस्थाका आचरण छन् । निर्वाचनमा राजनीतिक दल र तिनका भातृसङ्गठनहरूले निर्वाचनमा जे पनि गर्न पाउने छुट छैन । परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरणहरू रहेका छन् । जसमा जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । त्यसैगरी सवारी साधन र सञ्चार माध्यम प्रयोग, निर्वाचन खर्च, मौन अवधिमा पालना र मतदानको दिन पालना गर्नुपर्ने आचारण पनि रहेका छन् ।
मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पनि आचारसंहिता पालना गर्नुपर्छ । त्यसका लागि परिच्छेद ५ मा पालना गर्नुपर्ने आचरणहरू रहेका छन् । परिच्छेद - ६ मा पर्यवेक्षण संस्था तथा पर्यवेक्षणले पालना गर्नुपर्ने आचरण रहेका छन् । परिच्छेद ७ मा सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारको आचारसंहिता रहेको छ । परिच्छेद ८ मा निर्वाचन आचारसंहिता अनुगमन समिति सम्बन्धी व्यवस्था छ । परिच्छेद ९ मा विविध अन्तर्गत बहाल कर्मचारी उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने, आचारसंहिता उलङ्घनको उजुरी, उल्लङ्घनकर्ताको नाम सार्वजनिक लगायतका व्यवस्था रहेका छन् ।
आचारसंहिता उल्लङ्घनको उजुरी र सजाय
आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यक संयन्त्रको व्यवस्था गर्नसक्ने निर्वाचन ऐन, २०७३ मा उल्लेख छ । सोही आधारमा निर्वाचन आचारसंहिता, २०७८ मा केन्द्रीय, जिल्ला र स्थानीय तहमा आचारसंहिता अनुगमन समिति रहने व्यवस्था छ । आचारसंहिता उलङ्घन गरेको पाइएमा उजुरी दिन सकिन्छ । मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सकिने प्रावधान छ । निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिन्छ । त्यसैगरी निर्वाचन कार्यालय वा आचारसंहिता अनुगमन समिति समक्ष पनि । उजुरीका क्रममा भने आधार, कारण र प्रमाण पेस हुनुपर्ने उल्लेख छ ।
आचारसंहिता उलङ्घन भएको पाइएमा आयोगले आदेश दिनसक्छ । आदेशबमोजिम काम कारबाही नरोक्नेलाई जरिवाना हुनसक्छ । निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आधार निर्वाचन ऐनको दफा २३ ले प्रदान गरेको छ । आचारसंहिता उल्लङ्घनका कारण उम्मेदवारको उम्मेदवारी समेत रद्द हुनसक्छ । निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने भएमा आयोगले उम्मेदवारीसमेत रद्द गर्नसक्छ ।
समस्याहरू
निर्वाचन आरासंहिताको अक्षरस कार्यान्वयन गर्न निकै जटिल छ । तोकेभन्दा बढी गर्न पाए मात्रै ठूलो बनिने दम्भ र आडम्बरको प्रवृत्ति छ । दादागिरी गरेर ठिक पार्न सकिन्छ भन्ने मनोवृत्ति छ । आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रालाई हात्ती भन्दै कुर्लने प्रवृत्ति रहेको छ । आचारसंहिता लागू हुने व्यक्ति निकायहरू पूर्ण रूपमा जिम्मेवार बन्न सकेका छैनन् ।
कर्मचारी, प्राध्यापक र शिक्षकहरूले समेत उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन प्रयोग पूर्णरूपमा हटन सकेको छैन । विद्यालय भवनहरू सभाका लागि प्रयोग हुन छोडेको छैन । सामाजिक सञ्जालमा पक्ष वा विपक्षमा प्रचारप्रसारको क्रम रोकिएको छैन ।
जुलुस, आमसभामा उछृङ्खल प्रवृत्ति रहेको छ । जुलुस, सभा, भेला गर्नुअघि ७२ घण्टा अघि स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्नेमा त्यसो हुन सकेको छैन । प्रचारप्रसार गर्ने व्यक्तिले निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगोको दुरुपयोग हुने गरेको छ । गाडी र बाइकहरूमा निर्वाचन चिन्ह अङ्कित झण्डा हल्लाउदै हिड्ने गरेको पाइन्छ ।
१८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई प्रचारप्रसारमा प्रयोग रोकिएको छैन । रेडियोमा उम्मेदवारको प्रचारप्रसार एक मिनेटभन्दा बढी हुनुहुदैन । त्यसैगरी पत्रिकामा ७ इन्च X ७ इन्च आकारभन्दा बढी । तर सोको पूर्ण कार्यान्वयन हुन सकेको छैन । मतदाता प्रभावित गर्न छुकिछिपी नगदी तथा जिन्सी प्रलोभनको विकृति पनि समस्याका रूपमा छ । युवा क्याम्पिङ गर्ने, भोजभतेर लगायतका कार्यहरूमा उम्मेदवारहरू उत्प्रेरित हुदा आचारसंहिता उल्लङ्घनको गुञ्जायस भएको पाइन्छ । स्वच्छ निर्वाचनमा प्रश्न चिन्ह खडा भएको प्रतीत हुन्छ ।
अन्त्यमा,
निर्वाचन शान्त, धाँदलीरहित र व्यवस्थित तवरले सम्पन्न हुनुपर्छ । लोकतन्त्रमा जनताको शासन जनतामार्फत् हुन्छ । त्यसका लागि जनताले आफ्ना प्रतिनिधि आफै छानेर पठाउँछन् । आवधिक अनि निष्पक्ष निर्वाचन सबैको अपेक्षा हो । शक्ति, सत्ता र पैसाको आडमा निर्वाचन परिमाणको पल्लाभारी हुन हुदैन । यो वा त्यो बहानामा नागरिकको मताधिकारको अवमूल्यन हुने हर्कत गर्नु लोकतन्त्रको अवमूल्यन हो । निरंकुशताको पराकाष्ठा हो । निर्वाचन शान्त, स्वच्छ र धाँदलीरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्व्यन गर्न सबै जिम्मेवार बनौं । सभ्य नागरिक र राजनीतिक संस्कारको अवलम्बन गरौं । चेतना भया !