रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको वडा नम्बर १० मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । वैशाख ३० गतेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै गठबन्धनले सभा आयोजना गरेको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नगर प्रमुखका उम्मेदवार वसन्तकुमार शर्माले माओवादीलाई फेरि एक पटक विश्वास गरेर जिताउन मुसीकोट १० वासीलाई आग्रह गर्नुभएको थियो । चौखावाङ कामी बुढाको भूमि भएको र कामी बुढाले नेतृत्व गरेको कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पुर्याउन यहाँका जनताले सधै माओवादीलाई साथ दिइरहेको स्मरण गर्नुभयो ।
अव पनि आफुहरुलाई विश्वास गरेर जिताउन आग्रह गर्दै उहाँले आफ्नो नेतृत्वमा मुसीकोटको मुहार फेर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै उपप्रमुखका उम्मेदवार विमलकुमार पुनले पनि आफुहरुलाई विजयी बनाउन अनुरोध गर्नुभयो । मुसीकोटको विकासका लागि सक्षम नेतृत्व आउन आवश्यक रहेको र त्यो नेतृत्व आफुहरु रहेको उहाँको भनाई छ ।
त्यस्तै वडाध्यक्षका उम्मेदवार धनबहादुर खड्का बसन्तले मुसीकोट १० को मुहार फेरिएको बताउनुभयो । आधारभूत आवश्यकताहरु पुरा भएको र अव ति विकासको स्थायित्व र थप विकासका लागि माओवादीले जित्नुपर्ने उहाँले बताउनुभयो । आफुहरुको जीत निश्चित भइसकेको तर जीतको अन्तरलाई फराकिलो बनाउने गरी सबै वडावासी लाग्नुपर्ने उहाँको भनाई थियो ।