वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि मतदाता आकर्षित गर्न दलहरु प्रचारप्रसारमा छन् । उम्मेदवार सहित दलहरु जनताको पुगिरहेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र पनि चुनावी प्रचारमा व्यस्त छ । माओवादीले गाउँपालिका अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढालाई उम्मेदवार बनाएको छ । प्रस्तुत छ गाउँपालिकाको विकासका लागि माओवादीका एजेण्डा, चुनाव जित्ने आधार लगायतका बारेमा पत्रकार कर्मसही घर्तीले गाउँपालिका अध्यक्षका उम्मेदवार पुनिराज घर्तीसंग गरेको कुराकानीको सार संक्षेपः
तपाईं गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार उठ्नुको मुख्य ध्येय के हो ?
म नेकपा माओवादीको एक जिम्मेवार कार्यकर्ता हुँ । म गाउँपालिकामा सिफारिस हुनु पार्टीको नीति, सिद्धान्त र उद्धेश्य अनुरूप आमजनताको विकास र समृद्धिको आवाज उठानमा निरन्तर खटिएकाले नै हो । देशभरिका सात सय त्रिपन्न वटा स्थानीय तहहरूमध्ये पुथा उत्तरगंगा गाउँपालिकाका सबै भन्दा बढी वडा भएको र अति दुर्गम गाउँपालिका पनि हो । लुम्बिनी प्रदेशको सवालमा भन्नुपर्दा एकमात्र हिमाली जिल्ला रुकुम पूर्व हो । यो गाउँपालिकाका कतिपय वडामा अझैसम्म यातायातको पहुँच पुगेको छैन । खास गरेर यहाँको भूगोलको अवस्था, जनजाति, दलित, उपेक्षित अन्य समुदायको समग्र विकास प्रत्याभूति दिलाउन पनि मेरो उम्मेदवारीको खाँचो महसुस गरेको हुँ । राजनीति गर्नुको अर्थ नै दमित, शोषित, उत्पीडित र उपेक्षित ठाउँ र समुदायको यथोचित उत्थान गर्नमा ध्यान दिनु हो । यावत कुराले तमाम जनसमुदायको मागलाई सही दंगले कार्य सम्पादन गर्नका लागि मेरो उम्मेदवारी रहेको हो ।
पार्टीले तपाईंलाई टिकट दिँदा तिक्तता देखियो । यो तिक्तता हुनुको कारण के थियोे ?
निकै सान्दर्भिक प्रश्न सोध्नुभयो । जब मैले अध्यक्ष उम्मेदवारको लागि आकांक्षा राखे र टिकट पाएपछि केही प्रश्न स्वभाविक रूपमा उठे । चलायमान पार्टीमा प्रश्न उठ्नु आवश्यक थियो । विगतमा मबाट भएका कमीकमजोरी पनि कारण बन्न गए । काम गर्ने सन्दर्भमा जसको पनि गल्ती कमजोरी हुन सक्छन् । एउटा प्रश्न, तपाई प्रदेश संसदमा उठ्ने व्यक्ति किन पालिकामा उठ्नु भयो भन्ने थियोे । दोस्रो प्रश्न, विगत एक कार्यकाल पुथाले पाएको र अब उत्तगंगाले पाउनुपर्छ भन्नेमा थियोे । तेस्रो प्रश्न, गाउँपालिकाको केन्द्र तकसेरामा विधिवत दंगले सारिनुमा कोलको गुनासो थियोे । यावत प्रश्न चिह्न म माथि उठेका हुन् । पार्टी र जनसमुदायलाई काम मार्फत सेवा गरेर जवाफ दिनेछु भनेर पनि मेरो उम्मेदवारी परेको हो ।
तपाई विरुद्ध परेका बागी उम्मेदवारी कुन सहमतिले फिर्ता लिइयो ?
बागी उम्मेदवारी दिनुभएका कमरेड महेन्द्र बुढा र कमरेड जिताराम कामीसँग आन्तरिक छलफल र संगठनात्मक रूपले पार्टीको नीति, निर्देशन र सिद्धान्त अनुसार उहाँहरूले सहज ढंगले पार्टी र सिद्धान्तप्रति उत्तरदायी भएर आफ्नो बागी उम्मेदवारी फिर्ता लिनु भएको हो ।
पुथाउत्तरगंगा गाउँपालिकाका जनसमुदायले तपाईंबाट के अपेक्षा लिएका छन् ?
पुथा क्षेत्र र उत्तरगंगा क्षेत्रको मिलान गरेर बनाइएको यो गाउँपालिका भौगोलिक रूपमा निकै ठूलो छ । यस क्षेत्र र यहाँका जनसमुदायको सर्वाङ्गीण विकासको लागि धेरै काम गर्नुपर्नेछ । पार्टीप्रतिको लगाव र जनताप्रतिको उत्तरदायी एउटा कार्यकर्ताको कारण अबको चुनावमा मेरो उम्मेदवारी जनताबाट सहर्ष स्विकार हुनेछ । भौगोलिक विकटताको मारमा परेर आफ्नो दुःख, दर्द खेपिरहेका जनताको तमाम मागहरूलाई सम्बोधन गरेर अघि बढेको हुँदा मेरो उम्मेदवारीप्रति जनताले धेरै आशा गर्नुभएको छ ।
भौगोलिक विकटताको मारमा परेको गाउँपालिकामा विकास निर्माणका लागि तर्पाइका योजना के छन् ?
विकास निर्माणका विविध आधार छन् । सहिदमार्गको द्रुतगतिमा सडक बिस्तारमा जोड दिइनेछ । सहिदमार्ग अहिले हुकामसम्म पुगेकोछ । मैकोटसम्म सहिदमार्ग सडक अर्को टेन्डर हुने बित्तिकै शुरूवात गरिनेछ । यता तकसेरा हुँदै ढोरपाटनसम्मको सडक सञ्जाल निर्माणलाई अगाडि बढाइनेछ । क्युबाङ्ग, राङ्सी, नाखासम्म ग्राबल गरिनेछ । जामा बगर र त्रिबेणी हुँदै ओखमासम्म सडक बिस्तार गरिनेछ । उता नायगाड हुँदै चारगाउँ, खारबाङ्ग, अर्जल, घुन्मा, रन्मा, मैकोट हुदै पेल्मासम्मको सडक बाटो निर्माणमा जोड दिइनेछ । विद्युतको सवालमा कुरा गर्दा प्रायः गाउँमा अहिले माइक्रो हाइड्रोपावर छन् । तिनीहरूको मर्मत सम्भारका साथै केन्द्रीय लाइन पनि जोडिने छ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्दा जनताले सहज ढंगले उपचार गर्ने वातावरण मिलाइने छ । यस बीचमा शिक्षा क्षेत्रमा पुथा उत्तरगंगा गाउँपालिकाले थुप्रै लगानी गरेको छ । त्यसलाई चुस्त, दुरुस्त र गुणस्तरीय बनाउन जोड गरिनेछ । त्यसको अनुगमन तथा व्यवस्थापन गरिनेछ । कृषि उत्पादनमा माटो र हावापानी सुहाउँदो कृषिजन्य उत्पादनमा जोड दिइनेछ । विशेषतः सहिद परिवार र घाइते अपाङ्गको लागि केही विशेष कार्यक्रम बनाइनेछ । यहाँको प्राकृतिक संरचना र संस्कृतलाई जोडेर लैजाने कोशिश गरिनेछ । यहाँका जडिबुटी र तालतलैयाका उचित व्यवस्थापन गरिनेछ । तमाम गर्नुपर्ने कामहरू हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौं ।
गाउँपालिकामा विगतको विरासत जोगाउनलाई तपाईको जितेको आधार के हुन सक्छ ?
लोकतान्त्रिक विधि प्रक्रिया र संघीयता लगायत सबै मुद्दा माओवादी केन्द्रको कारण स्थापित छन् । नेकपा माओवादी केन्द्रको नीति, सिद्धान्त र कार्यविधिले मात्र हाम्रो गाउँ ठाउँमा विकास हुन सक्छ । हाम्रो पार्टीको आठौं महाधिवेशनले तय गरेको समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने मुल नाराका साथ हामी अगाडि बढेका छौं । समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न स्थानीय सरकारको गन्तव्य हुनेछ । यही नीतिलाई पछ्याउँदै काम गर्ने हो । विशेष गरेर रुकुम पूर्वको पुथा उत्तरगंगामा बसोबास गर्ने तमाम जनजाति, दलित र उपेक्षित जनताको राज्य स्तरमा कहीँ न कहीँ पहुँच हुनुपर्छ भन्नेमा हाम्रो जोड रहनेछ । जनताको अपार लगाव र माया पार्टीमा भएको हुँदा मेरो जित सुनिश्चित छ । जितपछि जनताका तमाम जनभावना, आवश्यकता र माग नै हाम्रो मूल कार्यदिशा हुनेछ ।