Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी, नेकपा एस र जसपाको घोषणाः मुसीकोटमा निःशुल्क खानेपानी  

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा गठबन्धन गरेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त चुनावी प्रतिबद्धता पत्र तयार पारेका छन् । ५ वर्षमा गर्ने विभिन्न कामहरु प्रतिबद्धता पत्र मार्फत गठबन्धनले सार्वजनिक गरेको हो । गठबन्धनले मुसीकोट नगरपालिकाको खलंगा लगायतका बजार क्षेत्रहरुमा खानेपानीको निःशुल्क व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ । खानेपानी अव्यवस्थित रहेको र खानेपानीमा चर्को महशुल तिर्न उपभोक्ता बाध्य रहेको बेला गठबन्धनले खानेपानी निःशुल्क गर्न पहल गर्ने प्रतिबद्धता गरेको हो । एक घर एक धाराको अभियानलाई पूर्णता दिने र लिफ्ट सिंचाइ आयोजना मार्फत खेतीयोग्य सुख्खा जमिनलाई सिंचाई गर्ने पनि गठबन्धनको प्रतिबद्धता छ । 

भूमिहीनलाई लालपुर्जा 
गठबन्धनले पाँच वर्षमा मुसीकोट नगरपालिकामा गरिवी न्यूनीकरण गर्ने महत्वकांक्षी योजना पनि अघि सारेको छ । सुखी र खुशी जनताको अवधारणा कार्यान्व्यनमा ल्याउने, जनता रोजगार कार्यक्रम संचालन गरी युवाहरुलाई रोजगारीमा जोड्ने योजना गठबन्धनको छ । नगरपालिकाका कुनैपनि नागरिक आवास विहिन हुनुनपर्ने र भूमिहीन नागरिकलाई लालपुर्जा प्राप्तिको लागि पहल गर्ने पनि गठबन्धनले प्रतिबद्धता गरेको छ । 

कृषि एम्बुलेन्स संचालन गर्ने 
किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाएको अवस्थामा गठबन्धनले निर्वाचन जितेमा मुसीकोटमा कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ । कृषि तथा पशु बीमा निःशुल्क गर्ने, शीतभण्डार निर्माण गर्ने, कृषिमा सहुलियत ऋण उपलब्ध गराउने, उत्पादित वस्तुमा अनुदान, मल, वीउ र कृषि औजारमा ५० प्रतिशत अनुदान दिने घोषणा समेत गठबन्धनले गरेको छ । 

मुसीकोटका विद्यालयमा डिजिटल लर्निङ 
गठबन्धनले शिक्षाको गुणस्तर विकासका लागि विभिन्न योजना बनाएको छ । टीन छाना हटाई पक्कि विद्यालय भवन बनाउने, पूर्ण साक्षरतायुक्त पालिका बनाउने, पढ्दै कमाउदै कार्यक्रम संचालन गर्ने, प्राविधिक शिक्षा अध्यनका लागि महिला तथा दलित विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यस्तै गठबन्धनले सामुदायिक विद्यायलहरुमा डिजिटल लर्निङ कार्यक्रम मार्फत गुणस्तरीय पठनपाठन सुरु गर्ने भनेको छ ।

यसका साथै गठबन्धनले मुसीकोटमा नगर वस संचालन गर्ने योजना बनाएको छ । जेष्ठ नागरिक, सहिद परिवार र घाइते अपांगता भएका नागरिकहरुलाई निःशुल्क सेवा दिने, सबै वडामा बाह्रै महिना चल्ने गरी पक्की सडक निर्माण गरिने छ प्रतिबद्धता पत्रमा भनिएको छ । वैरागीठाँटीमा दुग्ध उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने पनि भनिएको छ । जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण, एकल महिला विशेष रोजगार कार्यक्रम, अपांगता विशेष स्वरोजगार कार्यक्रम, ६० देखि ७० वर्ष उमेर समुहका जेष्ठ किसानलाई पेन्सनको व्यवस्था गर्ने नगर प्रमुखका उम्मेदवार वसन्तकुमार शर्माले बताउनुभयो ।

‘ग’ वर्ग समुहका अपांगता भएका व्यक्तिहरुलाई मासिक भत्ताको लागि समेत पहल गर्ने उहाँको भनाई छ । वडास्तरमा रहेका श्रम सहकारीलाई ५ करोडसम्मको सार्वजनिक निर्माणको काम गर्ने वातावरण मिलाउने योजना समेत बनाएको उहाँको भनाई छ । मुसीकोटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी विच गठबन्धन भएको छ । गठबन्धनका तर्फबाट माओवादीका वसन्तकुमार शर्मा नगर प्रमुख र नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन उपप्रमुखको उम्मेदवार हुनुहुन्छ । 

यस्ताे छ गठबन्धनकाे प्रतिवद्धता पत्रः

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update