रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को रुँघामा नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्र त्रिवेणीले गाउँपालिकाका विभिन्न ठाउँमा चुनावी सभा गरिरहेको छ । जसअन्तरगत आज वडा नम्बर १ मा सभा भएको हो ।
सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गणेशकुमार केसीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रको आधुनकि विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । त्रिवेणीको विकास माओवादीबाट सम्भव रहेको पनि उहाँले बताउनुभएको थियो ।
फेरि एक पटक विश्वास गरेर विजयी गराउन आग्रह गर्दै उहाँले जनताको अमूल्य मतलाई खेर जान नदिने प्रतिबद्धता पनि जनाउनुभयो । कार्यक्रममा उपाध्यक्षका उम्मेदवार राजकुमारी रेउले खड्का, माओवादी केन्द्रका प्रदेश समिति सदस्य निर्मला विष्ट, मोहनकिशोर ओली, प्रदेश सल्लाहकार सदस्य वीरवहादुर पुन, पार्टीका जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र त्रिवेणीका सचिव चन्द्रबहादुर खड्काले गर्नुभएको थियो ।