Kakhara सबैको खबर सम्पूर्ण खबर
खरानी बनेको राजतन्त्र र हिन्दुराज्यको कठपुतली राजेन्द्र लिङ्देन !

स्थानीय निर्वाचनले देश खुब तात्तेको छ यतिबेला । हिउँद याममा सुख्खा लेकाली भेगतिर पालिने भेडा-बाख्राहरु जुन बुट्यानबाट गोठालाले हरियो घाँस् बर्बर भुईँमा झार्दिन्छ उतै दौड्ने गरे झैँ नेपालको राजनितिक वृत्तमा, खास गरी हिजोआजको यो चुनावी समयक्रममा मानिसहरु जुन पार्टीबाट हरियो घाँस् झरेको देखिन्छ त्यतै दगुर्ने र हरियो घाँस् नझर्ने पार्टीलाई वा हरियो घाँस् झरेर पनि आफुले खान नसकिने पक्का देखिएको पार्टीलाई मुखमा आए जति तथानाम भन्ने र अर्को पार्टी प्रवेश गर्ने अवसरवादीहरुको ठुलो घुईँचो नै लाग्ने गरेको छ । जुन दृश्य अहिलेको चुनावी संघारमा पनि मज्जाले प्रदर्शित भईरहेको छ । तपाई हामीले देखिनै रहेका छौँ ।

यसरी पद, पैसा र अनुकलता लगायतका स्वार्थहरुमा मोलमोलाईँ नमिल्दा यताबाट उता, उताबाट यता गर्नेहरु केवल तल्लो लेभलका कार्यकर्ता मात्र छैनन् बरु गनिएका मानिएका जिल्ला स्तर, प्रदेश स्तर र केन्द्रिय स्तरका नेताहरु समेत सबै सबै छन् । यस्ता हुलहरु कुनै दर्शन्, वाद, सिद्धान्त र भिजन्सँग मन नमिलेर त्यसो गरेका होईनन्, मुलत: पद र स्वार्थ नमिलेरै त्यसो गर्ने गरेका छन् । केही अपवादका पात्रहरु मात्र हुन सक्छन् जस्ले पार्टी र नेतृत्वले अंगालेको राजनितिक दर्शन्, सिद्धान्त, प्रवृति तथा घोषणापत्रहरु सँग असहमति राखेर पार्टी त्याग्ने र प्रवेश गर्ने गर्छन् ।
आउँनुस्, अब लागौँ राजतन्त्र र हिन्दु धर्मको खरानी बोकेर यो चुनावमा होमिएका राप्रपाका नविन अध्यक्ष राजेन्द्र लिङ्देन र उनका पछाडी ताली पिट्दै उफ्रिरहेका मानिसहरु तर्फ !

एउटा उत्पिडीत जाति समुदाय भित्र पर्ने मान्छे, राज्यले विभेध र दमित गरेको वर्ग र वर्णमा पर्ने आदिवासी लिम्बुको छोरो केही महिनादेखी बडो चर्चामा छन् । खासगरी नेपाल आफ्नो मात्र विर्ता ठान्ने, आफुहरु नै यो देशको ठुलो सर्वोपरि जाति हुँ भन्ठान्ने, आफ्नो धर्म, भाषा, संस्कार नै यो देशको मुल पहिचान मान्ने र अरुलाई पनि जबर्जस्ति मान्न लगाउँने । सँधै आफ्नो वर्ग, वर्ण र खलकले मात्रै रजाईँ गर्न पाईयोस् भन्न चाहाने कथित अभिजात चिन्तनका ति तप्काहरुले, नेपाल देश नामकरण भए यता एकपटक पनि राज्यसत्ताको वाग्डाेर सम्हाल्न नपाएका आदिवासी किराँतिको छोरा लिङ्देनको जयजयकार गरिरहेका छन् यतिवेला । उनलाई यमपुरीमै पुग्ने गरी उचालेर दौडीरहेका छन् ।

झट्ट हेर्दा त यो किराँत समुदायको लागी, समग्र आदिवासीहरुको लागी र समावेशी गणतन्त्र नेपालकै लागी खुशीको कुरा जस्तो देखिन सक्छ । तर गहिरो सँग हेरियो भने, बुझियो भने यो त्यसको ठिक उल्टो ठुलो घातक र षड्यन्त्रकारीहरुको कठपुतली तथा बुख्याँचाको रुपमा मात्र राजेन्द्र लिङ्देनलाई उचालिँदै छ । र ति उचाल्नेहरुको कुममा टेकेर लिङ्देन् तालिम प्राप्त मैनाचरीले झैँ अर्काको आवाज बोलिरहेछन्, कथित हिन्दु राज्य र राजतन्त्रको वकालत गरीरहेछन् । जुन संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको भावना विपरीत आवाज हो, जनताले ७ दशक सम्म कठोर संघर्ष र वलिदान गरेर प्राप्त गरेको यो व्यवस्था र संविधान विपरीत आवाज हो । अझ भन्नु पर्दा हिजोको हिन्दुअतिवादी कुप्रथाबाट सृजित मानवता विरोधी जातव्यवस्थाले नेपाली समाजको पिँधमा कुल्चिएर चेप्टिएका, शोषण र दमन गरीएका उत्पिडित वर्ग र वर्णहरुको लागी गम्भिर बिषय हो राजेन्द्र लिङ्देनको आवाज । यसलाई नकेलाएर, भित्रि भाग सम्म नपुगेर नबुझेर समर्थन गर्नु जस्तो मुर्खता अरु हुन सक्दैन । यो कुरा नबुझेकाहरुलाई बुझाउँनु बुझेकाहरुको आजको प्रमुख कर्तब्य हो भन्ने ठान्छु म ।

जस्ले जे सुकै भनेर चर्चा गरोस् तर बिस्तारै नेपालको राजनीतिलाई साम्प्रदायिक कित्ताले विभाजन गर्दै गएको छ । हिजो अछुत भनेर घर भित्र छिर्न त के सिधा नजरले समेत हेर्न नसक्ने गरी हेपिएका मानिसहरु आज घरको चुल्हो मै आएर सवाल जवाफ गर्न सक्ने भएका छन् । हिजो जाँड रक्सीको घैँटोकै रुपमा सम्झेर मतवाली उपमा भिराईएका आदिवासीहरुले आज स्वतन्त्र रुपमा आफ्नो समान अधिकार र पहिचानबारे बोल्न सक्ने भएका छन्, उनिहरु बिस्तारै राज्यको नीतिनियम निमार्ण गर्ने हैसियतमा सामेल हुँदै छन् । धर्मको नाममा अनावश्यक परिबन्धहरु सृजना गरेर समग्र समाजलाई अन्धविश्वासमा गाँजेर राख्ने, उठ्न नदिने, तर्साउँने कथित अभिजात वर्ग र हिन्दुअतिवादीहरुको एक्लो बर्बर रजाईँतन्त्रलाई बिस्थापित गर्दै सबै धर्म भाषाहरुको समान अधिकार, मान्यता र सम्मान हुने गरी संसारमै मानवतापरक र सुन्दर मानिएको धर्मनिरपेक्षता प्राप्त भएको छ ।

पुस्तौँ देखि महिलाहरुलाई केवल पुरुषहरुको यौन प्यास मेटाउँने सारथी र सन्तान उत्पादनको साधनको रुपमा मात्रै पिल्सिन बाध्य पारिने गलत पितृसत्ता प्रथा र बिकृतिपुर्ण लैङ्गिक विभेदलाई च्याटच्युट पारेर महिला समानता र समावेशिता लागु भएको छ । आजको संविधानले महिलाहरुलाई नै बढी बलियो बनाएको छ । हो यही अभुतपुर्व परिवर्तनहरु बोकेको गणतन्त्र नेपाल पचाउँन नसक्ने कथित अभिजात वर्ग र ति वर्गका दलाल पक्षपोषकहरुको कठपुतली बनेका छन् राजेन्द्र लिङदेन । त्यसकारण लिङ्देनलाई हाम्रो लिम्बु, हाम्रो किराँति, हाम्रो आदिवासी वा हाम्रो पुर्वेली भनेर खुशी मनाउ गर्ने र भावनामा बगेर समर्थन गर्न थाल्यौँ भने त्यो ठुलो धोका र भुल हुने छ ।

हो उनले बोलेका कतिपय सुशासनका कुरा, टेष्टेड पुराना नेताहरुको नाजायज चर्तिकलाको बिरोधका कुराहरु जायज मान्न सकिन्छ । तर त्यतिले मात्रै उनलाई समर्थन जनाउँन सकिँदैन । मुख्य त उनले कस्तो र कस्को राजनीतिक एजेण्डा बोकेका छन् ? को र कस्ता तप्काहरुबाट परिचालित र समर्थित छन भन्ने कुरा बुझ्नु नै प्रमुख हो । उनले बोकेको राजतन्त्र र हिन्दुराज्यको मुद्धाले नेपालको १२३ जाति र १३१ भाषिक नेपालीहरुलाई फेरी हिजोको जस्तै पैतलामुनी कुल्चेर एकल जाति र एकल धर्मको साम्राज्य विस्तार गर्ने लक्ष्य तय गरेको छ । हामीले राम्ररी केलायौँ भने, राजेन्द्र लिङदेनको गोलो अनुहार देखाएर केही मुर्ख किराँति तथा आदिवासीहरुलाई भ्रमित पार्ने जालो बुनिएको रणनिति प्रष्ट सँग बुझ्न सक्छौँ । तर एकाध गोबर बुद्धि भएकाहरु भन्दै छन् आज हाम्रो समुदायको मान्छेलाई सबैले समर्थन गरीरहेको बेला हामीले झन किन नगर्ने ? आफुलाई आदिवासी अभियन्ता थान्ने कतिपय बुज्रकहरु समेत यो लहडको हुलतिर कुदिरहेका छन् ।

उनिहरुले यो बिर्सिरहेका छन कि आदिवासीले उठाएका आवाजहरुलाई निमोठ्न, नेपालका हरेक उत्पिडीत जाति, वर्ग, लिङ्ग, क्षेत्र, धर्म र भाषाहरुलाई गणतन्त्रको कोपिलामै सडाएर खरानी पार्न रचिएको ठुलो आत्मघाति माईन जस्तै हुन लिङ्देन् । त्यसकारण लिङदेन जस्ता आत्मघाति र परिचालित माईनहरुलाई सुझबुझका साथ निस्तेज पारेर धर्मनिरपेक्ष र समावेशी गणतन्त्रको रक्षा र विकास गर्ने कि ? हावातालमा अंगालो हाल्न गएर पड्किन सहयोग गर्ने ? आज उत्पिडित वर्ग जाति र क्षेत्रका नेपालीहरुले यो दुईवटा यक्ष प्रश्न छुट्याउँनै पर्छ । र स्वभाविकले रूपले गणतन्त्र पक्षधरहरुले बडो फ्रेस सुझबुझका साथ लिङ्देन जस्ता कठपुतली माईनहरुलाई निस्तेज पारेर भण्डाफोर गरेर फोहोरको ढंगुरमा मिल्काउँनु पर्छ ।

राप्रपाको यतिविधि नाजायज राजनितिक एजेण्डा हेर्दा हेर्दै पनि कतिपय हाम्रै दाजुभाई र दिदीवहिनीहरु समेत राप्रपाको विभिन्न उम्मेदवार बनेको देखिन्छन् । उहाँहरुको यो स्तरको मानसिक हैसियत हेर्दा साह्रै दया लाग्छ मलाई । केवल अवसर र पद भए अरु कुनै मत्लब नराख्नेहरुले आज राप्रपा जस्ता एकल जातिवादी र एकल धर्मवादी पार्टीलाई प्रोत्साहन गर्दा भोली हाम्रो अलि अलि भएको अस्तित्व र अधिकार पनि नामेट भएर जाने छ, फेरी उही विभेधपुर्ण र जातिय हिसावमा छुट्याईएको वर्ग समाज स्थापना हुने छ जुन यो देशकै लागी घातक छ भन्ने कुरा किन नबुझेका होलान ? जतिसुकै पद र पैसाको लोभीहरुले पनि कमसेकम यस्ता घटिया विचार बोकेका पार्टी र मान्छेहरुलाई समर्थन नगरीदिए हुने ।

खरानी भईसकेको कथित राजतन्त्र र हिन्दुराज्यको वकालत गर्ने नश्लिय एकल जातिवादीहरुको बिरुद्धमा बोलिरहँदा यता मंगोल पार्टी लगायतका बिभिन्न उग्रजातिवादी समुहहरुको बिरुद्धमा पनि बोलिएन वा लेखिएन भने त्यो पक्षपात गरीएको ठहर हुनसक्छ । समग्रमा आजको समावेशी गणतन्त्रात्मक व्यवस्थाले कुनैपनि एकलजातिवादी, एकल धर्म र सम्प्रदायवादी विचारहरुको बिरोध गर्दछ ईन्कार गर्दछ । ति बिचारहरु नेपाल जस्तो साम्प्रदायिक विविधता रहेको मुलकमा पाच्य हुन सक्दैनन् । नेपाल देशको सयौँ हजारौँ बर्ष पुराना ईतिहासहरु होलान । तर आजको दिनमा कुन समुदाय कुन शताब्दीमा नेपाल भित्रियो ? शुरुमा यो देशको भुमी थाम्ने को हौँ को होईनौँ ? को अघि आएको को पछी आएको ? म स्वदेशी तँ विदेशी, म मंगोल तँ आर्य, म ठुलो जात तँ सानो जात, मेरो धर्म ठिक तेरो धर्म बेठिक यस्ता बेतुकका बहस गरेर नेपाली नेपाली बिच अन्तरद्वन्द पैदा गरेर समय खेर फाल्नु ठुलो मुर्खता हो ।

हो ईतिहासलाई सुरक्षित राख्नु पर्छ, ईतिहासको गहिरो अध्ययन हुनु पर्छ । तर आजको समयको माग भनेको पुराना ईतिहासमा डुबेर त्यसबाट आक्रोश बनेर बर्तमानलाई अन्धाधुन्धको मुडभेदतिर धकेल्नु होईन । बरु ईतिहासबाट पाठ सिकेर नेपालका हरेक नागरीक, हरेक वर्ग, हरेक भाषा धर्म र क्षेत्रहरुलाई बराबर अधिकार, सम्मान र मान्यता हुने गरी मिलाएर अगाडी बढ्नु हो । त्यसैको खातिर हजारौँको बलिदान दिएर, भयानक आन्दोलनका आँधीवेहरीहरु चलाएर, हजारौँ मानिसहरु घाईते अपाङ्ग वेपत्ता भएर यो धर्मनिरपेक्ष र समावेशिता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको हो ।

आज नेतृत्व बिग्रन सक्छ, यो व्यवस्थाको जग बसाल्नेहरु नै मानसिक रुपमा र वैचारिक रुपमा गल्न सक्छन, गल्ति गर्न सक्छन, बिचलित र पलायन हुन पनि सक्छन् । किन की ति पनि मानिस नै हुन । र एउटा मानिसमा कुनैपनि बखत यि सबै घटनाहरु हुनसक्छन् । तर त्यसको अर्थ हामीले व्यवस्थानै निकम्मा भएको ठान्यौँ भने त्यो हाम्रो कम्जोरी हुन जान्छ । बरु नेतृत्व फेर्न सकिन्छ, यस व्यवस्था भित्रका कतिपय नमिलेका पाटोहरुको समिक्षा गर्न सकिन्छ । नेपाली माटो र भुगोल सुहाउँदो गरी व्यवस्थापन गर्न सकिन्छ । यदि संसदीय व्यवस्था मन नपरे अझै अगाडी बढेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पद्धतिमा जान पनि सकिन्छ । तर आर्यघाटमा खरानी पल्टेको राजतन्त्र र कथित हिन्दुराज्य यसको विकल्प हुन सक्दैन । यो देश कुनै एक वंश जाति र धर्मालम्बिको मात्रै विर्ता होईन ।

तर बिडम्बना हिन्दु राज्य माग गर्दै गणतन्त्रवादीहरुलाई लखेट्ने सपना देख्ने कथित अतिहिन्दुवादीहरु र यो देशको मुलबासीन्दा मंगोलहरु हुन खस आर्यहरु पछी भित्रिएका विदेशी हुन यिनलाई लखेट्नु पर्छ भन्ने मंगोलवादीहरु यि दुवै नाजायज र अस्वभाविक बिचारले संचालित समुहहरुले गर्दा कुनै दिन यो देश साम्प्रदायिक युद्धमा डुब्ने त होईन ? भनेर सोँच्न बाध्य पार्ने गरेका छन् । तर आजको सचेत नेपाली नागरीक र युवाहरुले यस्ता तथाकथित काईतेवादीहरुलाई पत्तासाफ पारेर बहुजाति, बहुभाषी, बहुधर्म, बहुसाँस्कृतिक सबै सबैको समान रुपमा प्रतिनिधित्व गर्ने र कदर गर्ने यो सुन्दर व्यवस्था धर्मनिरपेक्ष र समानुपातिक समावेशिता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सफलतापुर्वक कार्यान्वयन गर्दै अगाडी बढाउँनु पर्छ । आजको समयको स्पष्ट माग यही हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update