Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै मतदाताले नयाँ परिचयपत्र पाउने 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुनका लागि रुकुम पश्चिमका सबै मतदाताहरुले नयाँ परिचय पत्र पाउने भएको छ । यसअघि त्रुटीवस जिल्लाका मतदाताहरुको नामावली परिचयपत्रमा नागरिकता जारी भएको जिल्ला रुकुम पूर्व हुन गएकोले सबै मतदाताको नयाँ परिचय पत्र बनेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

जिल्लामा नामावली दर्ता गराएका सबै मतदाताको परिचय पत्र आईसकेको उहाँको भनाई छ । वैशाख २८ र २९ गते सम्बन्धीत मतदान केन्द्रबाट मतदाता नामावली परिचय पत्र वितरण हुने उहाँले बताउनुभयो । आफ्नो मतदान केन्द्रमा गएर सबै मतदाताहरुले आफ्नो परिचय पत्र लिन सक्ने उहाँको भनाई छ । 

देशभरमा रुकुम पश्चिम र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को मात्र पुरै मतदाता नामावली परिचय पत्र छापिएको निर्वाचन अधिकारी मल्लले बताउनुभयो । रुकुम पश्चिममा कुल १ लाख ४ हजार ४ सय ८२ जना मतदाता छन् । त्यस्तै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि जिल्ला भरमा ७६ मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्र तोकिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update