Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस र माओवादीले लगाए एक अर्कालाई लाखौं चोरीको आरोप 
कांग्रेस र माओवादीले निकालेका विज्ञप्ती ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा भएको घटनाका बारेमा कांग्रेस र माओवादीले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेर आ आफ्नो दाबी गरेका छन् । दुवै पार्टीले आफुमाथि भएको आक्रमणको प्रतिरक्षामा उत्रिएको दाबी गर्दै एक अर्कालाई चोरीको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रले कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ताको घरबाट करिब २० लाख नगद र ६ तोला बढी सुन लुटेर लगेको आरोप लगाएको छ । आफ्ना एक कार्यकर्ताको घरमा कांग्रेसका कार्यकर्ताले आगजनी गरेको समेत माओवादीको आरोप छ । 

माओवादीले निकालेको विज्ञप्ती ।

त्यस्तै माओवादीले मोटरसाईल, पार्टी कार्यालय, नेता कार्यकर्ताको घरमा तोडफोड हुँदा १० लाख बढीको क्षेति भएको माओवादी केन्द्र त्रिवेणीले जनाएको छ । माओवादीले पिडित व्यक्तिको क्षेतिपूर्ति व्यहोर्न आग्रह गर्दै त्यसो नगरेमा हुने परिस्थितिको जिम्मेवार स्वयं कांग्रेस नै हुने चेतावनी समेत दिएको छ । शान्तिपूर्वक प्रचार प्रसार गर्ने क्रममा कांग्रेस कार्यकर्ताले वैशाख १४ गते देखिनै विभिन्न ठाउँमा निहुँ खोज्ने काम गरेको माओवादीको दाबी छ ।

माओवादीले निकालेको विज्ञप्तीमा उल्लेख चाेरीकाे विवरण ।

चुनावी सभाको नजिकै आएर नारावाजी गर्ने, प्रचार टोलीलाई रोक्ने, कार्यकर्तालाई अवरोध गर्ने देखि विभिन्न अराजनीतिक हर्कत देखि आक्रमणमा उत्रिने काम भएपछि त्यसको प्रतिकारमा उत्रिनुपरेको माओवादी केन्द्र त्रिवेणीका सचिव चन्द्रबहादुर खड्का र अध्यक्ष गणेशबहादुर खड्काले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

उता कांग्रेसले पनि माओवादी कार्यकर्ताको आक्रमणमा प्रतिकार गर्नुपरेको र माओवादी कार्यकर्ताले आफ्ना नेताका घरमा लुटपाट गरेको आरोप लगाएको छ । गाउँपालिका सभापति दिपेन्द्रकुमार ओलीले एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्का र वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार हरिबहादुर खड्काको घरमा आगजनी गरी दुवैको घरबाट नगद ५ लाख र ३ तोला सुन लुटेको आरोप लगाउनुभएको छ । 

कांग्रेसले जारी गरेकाे विज्ञप्ती ।

त्यस्तै आक्रमणको प्रतिकारमा उत्रिएका पार्टी कार्यकर्तालाई कुटपिट गरी घाइते बनाएको र सुरक्षाका लागि प्रहरी चौकी नुवाकोटमा पुग्दा प्रहरी चौकीमै आक्रमण भएको कांगेसको आरोप छ । वडा नम्बर ५ को जिवाङमा वैशाख २२ गते पूर्व निर्धारित कार्यक्रम समेत माओवादीले विथोलेको विज्ञप्तीमा जनाईएको छ । 

दुवै पार्टीले शान्ति सुरक्षाको माग गर्दै शान्तिपूर्ण रुपमा प्रचार प्रसार गर्न पाउनुपर्ने माग राखेका छन् । साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण रुपमा चुनावी प्रचारमा लाग्न एक अर्कालाई आग्रह पनि गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update