रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३ र चौरजहारी नगरपालिका १ मा झडप हुँदा १० जना घाइते भएका छन् । कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताइएको छ । आठबीसकोट नगरपालिका ३ खदीमा भएको झडपमा परी प्रहरी सहित ७ जना घाइते भएका छन् । घाइते हुनेमा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार केशरमान विक, स्थानीय तुलबहादुर विक, सन्तोष विक, डिल्लीराज बोहरा र सिता बोहरा छन् ।
चौरजहारी नगरपालिका १ मा भएको झडपका कारण कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दल अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मानबहादुर विक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै ठाउँमा शुक्रबार राति झडप भएको हो । आठबीसकोटमा घाइते भएकाहरुको स्थानीय मेडिलमा उपचार भइरहेको छ भने चौरजहारी घाइते भएका विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । थप घटना हुन नदिन प्रहरी परिचालन र सम्झाई बुझाई गरिरहेको प्रहरीले बताएको छ ।