Kakhara सबैको खबर सम्पूर्ण खबर
वजस, गाजस, वडा हुँदै गाउँपालिका नेतृत्वमा कस्सिएका चन्द्रबहादुर

चन्द्रबहादुर केसी ‘उभार’ बाँफिकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेकपा माओवादीले केसीलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्षको टिकट दिएर मैदानमा पठाएको छ । केसी निरन्तर जनतासँग हुनुहुन्छ । उहाँले जनतासँगै भएर प्रत्यक्ष जोडिएर काम गर्न लागेकै दुई दशक पुगिसक्यो । फरक फरक भूमिकामा बाँफिकोटबासीसँगै हुनुहुन्छ, उहाँ । जनयुद्धकालदेखि जनताकै बीचमा काम गरेका केसी फरक फरक भूमिका जनतामा जानुभयो । 

२०५९ देखि २०६१ सम्म बाँफिकोट गाजसको ८ नम्बर वडा जनसरकार प्रमुखको रुपमा जनतामा जानुभयो भने २०६१ देखि २०६२ को असोजसम्म बाँफिकोट गाजस प्रमुखको रुपमा काम गर्नुभयो । २०६२ कार्तिकपछि तत्कालिन जनसत्ताद्धारा सञ्चालित जिल्ला जनसरकारको वकीलको रुपमा काम गर्नुभयो । २०६३ को चैत्र सम्म वकीलको रुपमा काम गरेका उहाँ २०७४ जेठदेखि २०७९ को वैशाख पहिलो हप्तासम्म बाँफिकोट गाउँपालिकाको ३ नम्बर वडाध्यक्षको रुपमा काम गर्नुभयो । तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका उहाँ र उहाँको टिम विजयी बनेर जनप्रतिनिधिका रुपमा पछिल्लो पटक केसी जनतामै गएर काम गर्नुभयो । फरक फरक भूमिकामा काम गरेका उहाँका अनुभव पनि फरक फरक छन् । जनसत्ताको क्रममा जनतामा जाँदा र हाल जनताका काम गर्दाका अनुभव फरक छन्, उहाँका । 
 
२०७९ को वैशाख पहिलो हप्तासम्म वडाध्यक्षको जिम्मेवारी सम्हालेका केसी अब बाँफिकोट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको छ । झण्डै ५ वर्ष वडा सरकार चलाएर नमूना काम गर्नुभएका केसी अब गाउँपालिका विकास र गाउँपालिकाबासीको समृद्धिका लागि भनेर निर्वाचनमा होमिनुभएको छ । जनताबाट अनुमोदित हुने र निरन्तर जनताको पक्षमा काम गर्ने घोषणा सहित केसी नेतृत्वको माओवादीको टिम चुनावी अभियानमा छ । 

निःशुल्क एम्बुलेन्स, शिक्षामा गुणस्तर बृद्धि, आयआर्जनमा विशेष ध्यान, रोजगार, स्वरोजगारमा बृद्धि गर्ने नारा सहित आफू चुनावी मैदानमा होमिएको केसीले बताउनुभयो । निःशुल्क उपचार सबै नागरिकको स्वास्थ्य बीमा अनिवार्य गर्ने पनि उहाँले बताउनुभयो । अहिलेको गाउँ कार्यपालिकाले सुरु गरेका, सम्पन्न गर्न बाँकी रहेको सम्पूर्ण योजना पूर्ण गर्ने र बाँकी थप योजना अघि बनाउने योजना सहित पार्टीले आफूलाई निर्वाचनमा पठाएको उम्मेदवार केसीले बताउनुभयो । ५ वर्षसम्म गाउँपालिकामा आधारभुत तहका धेरै काम सम्पन्न भइसकेको भन्दै उहाँले यसको दिगो र थप व्यवस्थापनका योजना आफ्नो टोलिसित रहेको जानकारी गराउनुभयो । 

किसानलाई सहुलियतमा ऋण र अनुदान प्रवाह, कृषि उपजनलाई सन्दर्भ मूल्य सहित बजारीकरण गर्ने मुख्य योजना पनि आफूसित रहेको केसीले बताउनुभयो । सम्पूर्ण विद्यालयहरु टिनका छानामुक्त गर्ने गरी घोषणा पत्र बनाइएको छ । कच्चि भवनलाई पक्कि बनाउने गाउँपालिकामा रहेको सम्पूर्ण विद्यालयका टिनका छानामुक्त गर्ने प्रतिबद्धता सहित जनतामा गएको केसीले बताउनुभयो । गाउँपालिकामा विस्तार हुँदै गरेका बजारलाई साना सहरको रुपमा निर्माण, सुरक्षित जनता आवासमा ध्यान लगाइने पनि उहाँले बताउनुभयो । बाढी, पहिरो, हावाहुरी, असिना,पानीबाट सबै गाउँपालिकाबासीलाई सुरक्षित राख्ने योजना सहितको घोषणा पत्र बनाइएको छ । 

वडाध्यक्ष हुँदाका लोकप्रिय काम
२०७४ सालमा बाँफिकोट तत्कालिन नेकपा माओवादी केन्द्रले एक्लौटी निर्वाचन जितेको गाउँपालिका हो । उहाँ पनि सम्पूर्ण टिम सहित ३ नम्बर वडामा निर्वाचित हुनुभएको थियो । वडामा सडक, भवन, खानेपानी लगायतका भौतिक पूर्वाधारमा प्रयाप्त गर्न सकिएको दावी उहाँको छ । स्थानीय तहको निर्वाचनपछि ३ नम्बर वडामा केसीकै नेतृत्वमा महत्वपूर्ण विकास निर्माणका काम भएका छन् । सामाजिक विकास र सचेतनाका काम पनि सम्पन्न भएका छन् । उहाँकै नेतृत्वमा रहेको ३ नम्बर वडाले वडाको सम्पूर्ण शिक्षालाई निःशुल्क गरेको छ । वडामा स्यार्पूताल मावि, शंकर आधारभुत विद्यालय नेपाने, जनहित आधारभुत विद्यालय कोलचौर, जनविकास आधारभुत विद्यालय भाग्ले छन् । सबै विद्यालयमा शिक्षक दरबन्दी पूरा छ । विद्यालयले कुनै पनि बाहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क लिन पाउँदैनन् । 

वडा शिक्षा समितिले नै विद्यार्थीको सम्पूर्ण शुल्क मिनाहा गरेको छ । वडाले नै त्यसको व्यवस्थापन गर्दै आएको छ । यस वडाका विद्यार्थीले भर्ना शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क प्रमाण पत्र शुल्क तिर्दैनन् । वडा कार्यालयले नै हरेक बर्ष त्यसको व्यवस्थापन गर्ने गरेको छ । सम्बन्धित विद्यालयको विव्यस, अभिभावक र वडा शिक्षा समितिको छलफलमा गरिएको निर्णयका आधारमा २०७५ सालको शैक्षिक शत्रबाट कुनै पनि शुल्क लिन बन्द गरिएको थियो । विद्यार्थी संख्याका आधारमा वडाले वडामा प्राप्त बजेट अनुदानको रुपमा विद्यालयलाई दिने गरेको छ । यसैबाट विद्यार्थीले पठन पाठन र विद्यालय स्थान्तरण पनि गर्न पाइरहेका छन् । विद्यालयका भौतिक पूर्वाधारका काम भएका छन् । भवन निर्माण, घेराबार, शौचालय निर्माण, खेलमैदान व्यवस्थापनका काम भएका छन् । 

३ नम्बर वडामा लगभग पुग्दो सडक बनेका छन् । केही टोल, वस्ति जोड्ने सडक बन्ने क्रममा छन् । यस अवधिमा वडाका सबै टोलमा सडक निर्माण सम्पन्न भएको छ । हरेक टोलका सर्वसाधारण बढी पैदल यात्रा गर्दा १० देखि १५ मिनेट हिडेपछि मात्रै पनि सडक भेटाउँछन् । उहाँले नेतृत्व गरेको ३ नम्बर वडामा सिचाई सुविधा योजना पनि थुप्रै निर्माण भएका छन् । वडाको सिंचित भूभागको सिचाईलाई व्यवस्थित बनाउने योजनाका साथ वडाका अधिकांश खेतीयोग्य जमिनमा सिचाई सुविधा पुगेको छ । कतिमा पुग्ने क्रममा रहेको छ । केही योजना कार्यान्वयनकै चरणमा छन् । वडाका झण्डै ३ सय घरधुरीमा खानेपानी योजना पुगेको छ । अरु घरधुरीमा पुग्ने क्रम जारी छ । 

खानेपानी आधारभुत आवश्यक्ता भएको भन्दै त्यसमा पनि उहाँले मेहनतका साथ काम गरेको बताउनुभयो । वडामा विभिन्न खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । वडाको सबैतिर विद्युतीकरण भइसकेको छ । सोही वडामा बनेको विद्युत आयोजना मार्फत सबै वडामा विद्युत जडान गरिएको छ । केसीले नेतृत्व गरेको वडाका किसानलाई प्रोत्साहन दिइएको छ । वडाले नियमित बीउ विजन वितरण गर्दै आएको छ । मौसम अनुसारको बीउ विजन, तरकारी तथा फलफूका विरुवा वितरण हुँदै आएको छ । 

बाँफिकोट गाउँपालिकामा नयाँ भवन बनाउने वडामा यो वडा पर्छ । संघीय सरकारको एक करोड ५ लाखमा वडाको आफ्नै भवन निर्माण भएको छ । पछिल्लो समय आफ्नै वडाबाट वडाको कार्य सम्पादन भइरहेको छ । वडाका लागि व्यवस्थित वडा कार्यालय निर्माण भएको छ । यसले सेवा प्रवाह गर्न र सेवा लिनेलाई सहज भइरहेको छ । वडामै स्वाथ्य चौकी बनाएर सेवा प्रवाह भइरहेको छ । स्वास्थ्य इकाइको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । भाडाको घरमा सञ्चालन भइरहेको इकाइलाई आफ्नै भवनमा चलाउनका लागि उहाँले पहल गर्नुभयो र सफल हुनुभयो । 

वडाध्यक्ष र अरु जनप्रतिनिधिहरु नियमित टोलटोलमा जाने काम अभियान उहाँले चलाउनु भएको थियो । सामाजिक सुरक्षा भत्ता वितरण गर्न घरघरमा पुग्नदेखि, बीउ वितरणका लागि पनि घरघरमा पुग्ने गरिएको थियो । स्वास्थ्यकर्मी, पशु सेवा स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर स्वास्थ्य चेकजाँच गर्ने गरिएको छ । जन्म, विवाह र मृत्यु,दर्ता, जग्गा रजिष्ट्रेशन सिफारिदेखि नियमित सिफारिस दिन पनि वडा कार्यालय टोलटोलमा पुग्ने गरेको छ  । जनतालाई आँगनमै सेवा प्रवाहको उद्देश्यले सकेसम्म नजिकमा सेवा प्रवाह गरेको र अब त्यसलाई पालिकाभर कार्यान्वयनको योजना रहेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष हुँदा केसीले व्यक्तिगत रुपमा पनि सहयोग सेवा गर्नुभएको छ । उहाँले आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ । विभिन्न खेलकुद तथा विपन्न परिवारलाई राहत वितरण, औषधी उपचारमा पनि वडाध्यक्ष अग्रसर हुनुभएको छ । आफूले २ लाख जम्मा गरेर आमा–बुवा छात्रवृत्ति कोष स्थापना गर्नुभएका वडाध्यक्ष केसीकै अगुवाईमा वीरेन्द्र मावि बाँफिकोटमा ३० लाख बढी रकम जम्मा भएको छ । यसमा देश तथा विदेशमा रहेका अरु धेरै जनाले पनि योगदान गर्नुभएको छ । आफू सहित वडाका अरु जनप्रतिनिधिले जेष्ठ नागरिक र अपांगलाई वनभोज आयोजना गर्नुभएको थियो । गाउँपालिकाका अरु ९ वडाका ९ जना र आफ्नो वडाका १७ जना गरी २६ जना विरामीलाई उपचार खर्च वापत ४ हजारका दरले नगद सहयोग गर्नुभएको थियो । यसको साथै उपचारकै लागि मानव ओली र मनबहादुर मल्ललाई ८ हजार नगद सहयोग गर्नुभएको थियो । कमला ओलीलाई पनि उपचारका लागि ५ हजार नगद सहयोग गर्नुभएको थियो । 

वडाध्यक्ष केसीले खेलकुद सामग्री पनि प्रदान गर्दै आउनुभएको छ । व्यक्तिगत पैसा खर्च गरेर विभिन्न वडामा भलिबल र जाली प्रदान गर्नुभएको छ । यसैगरी पहिरो पीडित नविन विकलाई दश हजार, चित्रबहादुर विकलाई दश हजार सहयोग गर्नुभएको थियो । खलबहादुर विकको उपचारका लागि ५ हजार नगद सहयोग गर्नुभएको छ । सन्दिप विकलाई ३५ सय नगद सहयोग गर्नुभएको थियो । गाउँपालिकाका १० वडाका महिला तथा पुरुष भलिबल खेलाडीका लागि डेढ लाखका पोशाक किन्दिनु भएको छ । १ सय ७० जना खेलाडीका लागि पोशाक प्रदान गर्नुभएको थियो । अपांग बेगम केसीको उपचारका लागि उहाँले व्यक्तिगत ८ हजारको साथै अरु पहल गर्नुभएको थियो । त्यसमा १३ लाख रुपैयाँ जम्मा भएको थियो । यो अभियानलाई पनि अब निरन्तर जारी राख्ने प्रतिबद्धता सहित आफू अध्यक्षको उम्मेदवार बनेको केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update