नेकपा माओवादी केन्द्र मुसीकोट नगरपालिका वडा नम्बर २ ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट वडामा विजयी हाँसिल गरे ५ वर्षमा गर्ने कामहरुको विवरण पार्टीले ६ बुँदामा सार्वजनिक गरेको छ । जसमा जनजिविकासंग जोडिएका सानासाना कुरा देखि महत्वकांक्षी योजनाहरु समेत समावेश गरिएको छ । कुनैपनि घटना दर्ताका लागि वडा कार्यालयमा पुग्नु नपर्ने प्रतिबद्धता पार्टी तथा वडाध्यक्षका उम्मेदवारले गरेका छन् । जन्म, मृत्यु, विवाह, वसाइसराई आदी घटना दर्ताका लागि वडा सरकार वडावासीको घरघरमै पुग्ने प्रतिबद्धता गरिएको छ ।
माओवादीले वडामा रहेका सबै सडकको स्तरोन्नति गरी २५ किलोमिटर सडक कालोपत्रे गर्ने महोत्वकांक्षी योजना अघि सारेको छ । सडक नपुगेका बाद्दे, राक्सेकोट, छहरी, जयरामपुर लगायतका टोलमा सडको ट्रयाक खोल्ने, पशुपति मावि र महाकाली माविको स्तरउन्नति गरी नीजि विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउने, गास बास र स्तरीय स्वास्थ्य सेवाको पहुँचमा नरहेको वडावासीका लागि विशेष कार्यक्रम ल्याउने र टोल टोलमा मन्टेश्वरी कक्षा सञ्चाल गर्ने भनिएको छ । तीन तहको सरकार र ठूला नीजि क्षेत्रहरुसंग सहकार्य गरी माछिमी–रातामाटा–डिग्रे–जन्तिवस्ने लेकसम्म केवुलकार स्थापना गर्ने र २ नम्बर वडावासीको अधिकतम शेयर रहने व्यवस्था गर्ने योजना बनाईएको छ ।
वडाका अतिविपन्न २ सय जनालाई ५ लाख बराबरको जीवन तथा दुर्घटना बीमा गर्ने, बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, वार्षिक १ लाख ८० हजार भन्दा कम आयस्रोत भएका घर परिवारलाई वडाले सो वराबरको रोजगारीको ग्यारेन्टी गर्ने अन्यथा वेरोजगार भत्ताको व्यवस्था गर्ने सम्मका महत्वकांक्षी प्रतिबद्धता वडाले जनाएको छ ।
विभिन्न देश तथा देश भित्रै रोजगारीमा रहेकाहरुको सहकार्यमा सामाजिक सुरक्षा कोष स्थापना गर्ने र विसुद्ध सामाजिक क्षेत्रमा खर्च गर्ने, सतिपोलेमा बसपार्कका लागि छुट्याईएको जग्गामा हाल फोहोर फाल्न प्रयोग भएको ३ महिना भित्र उक्त जग्गालाई खाली गरी बसपार्कका विकास गर्ने र निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, घरमै पुगेर खोप तथा अन्य स्वास्थ्य सेवा दिने पनि माओवादील प्रतिबद्धता जनाएको छ । पार्टीका वडाध्यक्ष रमेश खड्का र पार्टीका तर्फबाट मुसीकोट २ का अध्यक्षका उम्मेदवार दलबहादुर खड्काले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।