वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा कर्मचारी खटनपटनको काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा आवश्यक कर्मचारी खटाउन सुरु गरेको हो ।
आईतबार आठबीसकोट नगरपालिकाका मतदान केन्द्रमा कर्मचारी खटाईएको छ । सदरमुकामबाट टाढाको दुरिमा पर्ने भएकोले कर्मचारीलाई नियुक्ति दिएर मतपत्र तथा आवश्यक निर्वाचन सामग्रि सहित आईतबारनै खटाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आईतबार आठबीसकोट २४ वटा मतदान केन्द्रका लागि कर्मचारी खटिएका छन् । अव त्यहाँका ३ वटा मतदान केन्द्रमा कर्मचारी खटिन बाँकी छ । आईतबार आठबीसकोट र चौरजहारीमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र दिईएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । भोलीसम्ममा सबै कर्मचारीलाई नियुक्ति पत्र बाँढिसक्ने उहाँको भनाई छ ।
उहाँका अनुसार जिल्ला भरमा ६ सय ९४ जना कर्मचारी खटिदै छन् । १ सय ३९ जना मतदान अधिकृत, १ सय ३९ जना सहायक मतदान अधिकृत, १ सय ३९ जना कार्यालय सहयोगी र २ सय ७७ जना सहायक कर्मचारी गरी जिल्ला भरमा कुल ६ सय ९४ जना कर्मचारी खटिन लागेको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
पर्सी साँझसम्ममा मतपत्र तथा आवश्यक मतपत्र सहित कर्मचारीहरु सवै मतदान केन्द्रहरुमा पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७३ वटा वडा रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु कायम गरिएको छ ।
मुसीकोट नगरपालिकामा २९, आठबीसकोट नगरपालिकामा २७, चौरजहारी नगरपालिकामा २६, सानीभेरी गाउँपालिकामा १९, त्रिवेणी गाउँपालिकामा २० र बाँफिकोट गाउँपालिकामा १८ वटा मतदान केन्द्रहरु रहेका छन् ।