नेकपा माओवादी केन्द्र रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको वडा स्तरिय जनसभा बाँफिकोट गाउँपालिका वडा नम्बर १० को सेजेमा पुगेर सम्पन्न भएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको बैशाख १८ गते १ नम्बर वडाबाट सुरु भएको वडा स्तरिय जनसभा कार्यक्रम १९ गते २ नम्बर वडाको जिपुमा भएको थियो ।
यस्तै २० गते वडा नम्बर ३, ४ र ५, को सयुंक्त रुपमा बाँफिकोट ४ को नेटामा सम्पन्न भएको थियो । २१ गते ९ नम्बर, २२ गते ७ नम्बर, २३ गते ८ नम्बर, २४ गते ६ नम्बर वडामा कार्यक्रम गरेको माओवादीले आज वडा नम्बर १० मा चुनावी सभा गरेको हो । आजबाट माओवादी केन्द्र बाँफिकोटको वडा स्तरिय जनसभा कार्यक्रम सकिएको माओवादी केन्द्र बाँफिकोटले जनाएको छ ।
जनाताका गुनासोहरुलाई सम्वोधन गर्दै जनतासामु शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाई जस्ता विकासका पूर्वाधारलाई विशेष जोड दिदै रोजगार मुलक कार्यक्रम ल्याउने पार्टीले प्रतिबद्धता व्यक्त गर्दै आएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माले वडा नम्बर १० मा सबैभन्दा पहिलो प्राथमिकता सडकलाई दिईने बताउनुभयो ।
सडक विकासको मेरुदण्ड भएको हुँदा पहिलो प्राथमिकता सडक निर्माणलाई दिएको उहाँले बताउनुभयो । साथै वडामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा पर्यटनलाई विशेष जोड दिन स्थानीय तह प्रदेश र केन्द्रबाट बजेट व्यवस्थापन गर्ने समेत उहाँको प्रतिबद्धता छ ।
अघिल्लो सरकारले कडा चट्टानका वावजुत पनि १० नम्बर वडालाई सडक सञ्जालमा जोड्ने प्रयास गरेको र अव आउने सरकारले त्यसलाई पूर्णता दिने उहाँको भनाई छ । साथै १० नम्बरबासीले उत्पादन गरेका कृषि उपजलाई बजारको व्यवस्थापन र ढुवानीको व्यवस्था गर्न अबको सरकारले विशेष ध्यान दिने पनि उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसी, गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसी, उपाध्यक्षका उम्मेदवार तारा बढा केसी, पार्टीका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, मनकला पुन लगायतको पनि उपस्थिति रहेको थियो ।