सार्वजनिक ठाउँमा सिसी क्यामेरा राखिने भएको छ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाका विभिन्न महत्वपूर्ण ठाउँमा सिसी क्यामेरा राख्ने तयारी भइरहेको हो । अपराध न्युनिकरण तथा अरु गतिविधि निगरानीका लागि प्रहरीले यसको पहल अगाडी बढाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले प्रारम्भिक चरणमा ७ ठाउँमा सिसी क्यामेरा जडानको तयारी गरिएको बताउनुभयो ।
बागबजार, त्रिवेणिचौक, पुष्पलाचौक, पातुखोला र मुख्य बजारमा सिसी क्यामेरा राख्ने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । यो भन्दा थप ठाउँमा पनि सिसी क्यामेरा राख्नुपर्ने अवस्था भएपछि जानकारी गराउनका लागि उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ । जिल्ला स्थित सरोकारवाला निकायसँग परिचयात्मक कार्यक्रम आयोजना गर्दै डिएसपी श्रेष्ठले शान्ति सुरक्षा र अमन्चयन कायमका लागि कुनै पनि प्रकारको कार्य बाँकी नराख्ने बताउनुभयो ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि सबै पक्षसँगको सहकार्यलाई प्राथमिकता दिने डिएसपी श्रेष्ठले बताउनुभयो । भर्खर जिल्ला आउनु भएका डिएसपीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने, लागु औषध नियन्त्रणलाई बढी जोड गर्ने बताउनुभयो । सकेसम्म जिल्ला झै झगडा नभएको र भएको नसुन्निने गरी काम गर्ने योजना रहेको सुनाउँदै उहाँले यसमा सबैको सहयोग र सहकार्यमा जोड दिनुभयो । जिल्लाको समग्र अवस्था बुझ्ने क्रममा रहेकाले यसपछि थप रणनीति बनाउने उहाँले बताउनुभयो ।