Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १३ र १४ को संयुक्त चुनावी सभा दोपाईमा सम्पन्न 
चुनावी सभा ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर १३ र १४ को संयुक्त चुनावी सभा दोपाईमा सम्पन्न भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दोपाईमा संयुक्त सभा आयोजना गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पुनले माओवादी सरकारमा आएपछि कुनाकन्दरामा विकासले गति लिएको बताउनुभयो । वर्षौसम्म सरकारमा हुँदा पनि अन्य पार्टीले विकास गर्न नसकेको तर माओवादी सरकारमा पुगेको ५ वर्षमै कुनाकन्दरामा विकासको अभियान सुरु भएको बताउनुभयो । 

सडक, बिद्युत, सञ्चार, शिक्षा लगायतमा नसोचेकै विकास भएको उहाँको दाबी छ । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सम्मिलित गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार वसन्तकुमार शर्माले कसैलाई पनि काखा पाखा नगरेर विकास गर्ने पार्टी माओवादी भएको बताउनुभयो । 

स्थानीय तहको पहिलो ५ वर्षमा नगरभरमा समानुपातिक विकासको सुरुवात गरिएको उहाँले बताउनुभयो । अव आफु नेतृत्वको नगर सरकारले विकासको गतिलाई थप उचाईमा पुर्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

अझैपनि नगरका केही ठाउँमा सडक, बिद्युत, खानेपानी लगायतका आधारभूत विकास हुन बाँकी रहेको भन्दै उहाँले आफुहरुले जितेमा ति ठाउँलाई विशेष प्राथमिकता दिएर अगाडी बढ्ने बताउनुभयो । त्यस्तै नगर उप प्रमुखका उम्मेदवार विमलकुमार पुनले अवको ५ वर्षमा देखिने गरी नगरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य तथा निर्वाचन परिचालन समितिका मुसीकोट १३ का संयोजक गोपालसिंह केसी प्रभातको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य बुद्धिप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका विज्ञान, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य जीतबहादुर हमाल, माओवादी नेता दिपक केसीको आतिथ्यता रहेको थियो । 

त्यस्तै १३ नम्बर वडा अध्यक्षका उम्मेदवार खलबहादुर खड्का, १४ नम्बर वडा अध्यक्षका उम्मेदवार चन्दबहादुर बिष्ट, दुवै वडाका वडा सदस्यका उम्मेदवारहरु, पार्टीका नेता, कार्यकर्ता लगायतको पनि सभामा उपस्थिति रहेको थियो । यसका साथै वडा नम्बर १३ को चौतारामा पनि चुनावी सभा भएको छ ।  

बिहान मुसीकोट नगरपालिका ३ को माछिमीमा पनि चुनावी सभा भएको थियो । उक्त सभालाई पनि नगर प्रमुखका उम्मेदवार वसन्तकुमार शर्मा, उप प्रमुखका उम्मेदवार विमलकुमार पुन लगायतले सम्बोधन गर्नुभएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update