Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूतालबाटै अर्को विद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढ्यो

रुकुम पश्चिमको स्यार्पूतालको पानीबाट बन्ने अर्को विद्युत आयोजनाको वातावरणिय असर र प्रभावको बारेमा सार्वजनिक सुनुुवाई भएको छ । स्यार्पू पावर कम्पनीले बाँफिकोट गाउँपालिका ३, मा रहेको स्यार्पूतालकै छेउमा विद्युत आयोजना निर्माणका क्रममा त्यस क्षेत्रमा पर्ने वातावरणिय असर र प्रभावका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।

वातावरणिय प्रभाव र असर बारेको काम गरेको अपी कन्सल्टेन्सीले यसका बारेमा स्थानीयबासी तथा सरोकारवालालाई जानकारी गराएको हो । कन्सल्टेन्सीका निर्देशक डाक्टर नविन जोशीले विद्युत आयोजना निर्माणका क्रममा त्यस आसपासमा पर्ने असर प्रभावका बारेमा जानकारी गराउनुभएको थियो । त्यस असापासका केही सिचाई कुलोमा असर पर्ने, जंगलका केही रुख कटान हुने, परम्परागत घट्टमा क्षेती पुग्न सक्ने बताइएको छ ।

सार्वजनिक सुनुवाईमा सहभागि स्थानीय तथा सरोकारवालाले वातावरणिय असरलाई कम प्रभाव पर्ने विधि अख्तियार गरेर विद्युत आयोजना निर्माण गर्न सुझाव दिएका छन् । विकासका लागि आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत आएको स्यार्पू पावर कम्पनीका सचिव चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

गाउँपालिका, राजनीतिक दलहरुले पनि वातावरणिय प्रभाव र असरलाई न्युनिकरणमा जोड दिँदै अब बन्ने विद्युत आयोजना निर्माणमा सघाउने बताएका सचिव केसीले बताउनुभयो । बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोजनाको वातावरणिय मूल्याकनबारेका प्रतिवेदन पेश भएको थियो ।

त्यसमा राय तथा सुझाव संकलनको काम पनि भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदिप ओलीले वातावरणिय प्रभाव र असरका विषयमा छलफलपछि अब निर्माणको काम अघि बढ्ने बताउनुभयो । ३ दशमलम ३ मेगावाट क्षेमताको उक्त विद्युत आयोजना झण्डै ५० करोडमा निर्माण हुने जनाएको छ । यसमा सुरुमा जिल्ला समन्वय समिति सहित जिल्लाका ६ स्थानीय तहले शेयर हालेका छन् । निर्माण कार्य सुरु भएपछि सर्वसाधारणका लागि शेयर खुला गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update