जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गठन गरेको छानविन समितिले जिल्लाका दुई निजी कलेजले विद्यार्थीलाई ठगि गरेको बताएको छ । आफूहरु ठगिएको र झुक्क्याइएको भन्दै विद्यार्थीहरुले उजुरी गरेपछि टिएनटी टेक्निकल कलेज र स्यार्पूताल इन्जिनियरिङ कलेजमाथी छानविन गरिएको थियो । विद्यार्थीको उजुरी लगत्तै जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो ।
उक्त समितिले दुवै कलेजले विद्यार्थीलाई ठगेको र झुक्क्याएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा यि दुवै कलेज प्रचलित मापदण्ड अनुसार सञ्चालन नभएको, विद्यार्थीलाई कुनै कुराको विश्वास दिलाएकोमा सो अनुसार नगरी फकाई, फूल्याई वा धोका दिई वेइमानीपूर्वक विद्यार्थीको समय र आर्थिक हानी पुर्याएको उल्लेख छ । विद्यार्थीलाई हानी, नोक्सानी पुर्याएर कलेज सञ्चालक आफैले त्यसको लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन प्राप्त भए लगत्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ । लिखित पत्र लेखेर आवश्यक अनुसन्धान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । जिल्ला प्रशासनको निर्देशन बमोजिम प्रहरीले कलेज सञ्चालसँग आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
स्यार्पूताल इन्जिनियरिङका कलेजका सञ्चालक प्रहरी नियन्त्रणमा छन् भने टिएनटी टेक्निकल कलेजका सञ्चालक प्रहरीको सम्पर्क बाहिर रहेको जनाइएको छ । टिएनटी कलेजका ३३ र स्यार्पूतालका ९ जना विद्यार्थीले आफूहरुलाई झुक्याएर ठगि गरेको भन्दै जिल्ला प्रशासन गुहारेका थिए । विद्यार्थीहरुले टिएनटी टेक्निकल कलेज तालाबन्दी र कलेज सञ्चालक विरुद्ध नाराबाजी समेत गरेका थिए । विद्यार्थीहरुले आफूहरुलाई झुक्याएको भन्दै आफूहरुले तिरेको रकमको दोब्बर पाउनुपर्ने र कलेज सञ्चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्