राप्ती लोकमार्गमा राखिएको बम डिस्पोजल गरिएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ६, को विसौनामा राखिएको बम डिस्पोज गरेको हो । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको क्रममा शनिबार दिउँसो १ः५० बजे शंकास्पद वस्तु देखिएको खबरपछि इलाका प्रहरी कार्यालय सिम्रुतुको टोलीले उक्त वस्तु बम भनेर पहिचान गरेको थियो ।
त्यसपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठ नेतृत्वमा ७ जनाको टोली बम राखिएको स्थानमा गएको थियो । नेपाली सेनाको नरिसङ दल गणका सह सेनानी दीपेन्द्र बुढा नेतृत्वमा ९ जनाको सेनाको टोलीले अन्दाजी ५ लिटर क्षेमताको उक्त बम डिस्पोजल गरेको डिएसपी श्रेष्ठले बताउनुभयो । रातो रंग छर्किएर रातै तार प्रयोग गरेर उक्त बम राखिएको थियो । उक्त सडक जिल्ला भित्रिने र जिल्ला बाहिरीने मुख्य सडक हो । नेपाल बन्दका कारण शनिबार दिनभर कुनै पनि सवारीका साधन चलेनन् ।