नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी ओली पक्षले रुकुम पश्चिममा पार्टी संगठन विस्तारलाई तिब्रता दिएको छ । जिल्लाको सिंगो पदाधिकारी टिम तथा अधिकांश जिल्ला कमिटि सदस्य (प्रचण्ड माधव नेपाल समूहमा) लागेपछि ओली पक्षले पार्टी विस्तारको काम अघि बढाएको हो । पुष २३ गते टंकप्रसाद ओलीलाई जिल्ला संयोजक तोकेको ओली पक्षले ४ वटा स्थानीय तहमा पार्टी निर्माण गरेको छ ।
मुसीकोट र चौरजहारी नगरपालिका तथा बाँफिकोट र सानीभेरी गाउँपालिकामा पालिका स्तरीय कमिटि बनाएको छ । मुसीकोटमा जगविर खड्का संयोजक र भिउसन ददेल सह संयोजक रहेको नगर कमिटि गठन भएको छ । अतिराम ओली संयोजक र डिलबहादुर राना सह संयोजक रहेको नगर कमिटि चौरजहारी नगरपालिकामा गठन भएको छ ।
हर्कबहादुर पौडेललाई संयोजक र गोविन्द केसीलाई सह संयोजक बनाएर बाँफिकोट गाउँपालिका स्तरीय कमिटि फर्मेशन गरिएको छ । सानीभेरी गाउँपालिकामा भने डबलसिङ बिक संयाेजक र दिपेन्द्र कुँवर सह संयाेजक रहेकाे पालिका स्तरीय कमिटि गठन भएको छ । आठबीसकोट नगरपालिका र त्रिवेणि गाउँपालिकामा पालिका स्तरीय पार्टी कमिटि गठनपछि वडा र सेल कमिटि गठनको प्रक्रिया अघि बढाउने केन्द्रीय सदस्य नन्दराम देवकोटाले जानकारी दिनुभयो ।