क्रिकेट महँगो खेल हो । चाहे भौतिक संरचनाका कुराले होस, चाहे खेल सामग्रीका कुराले । सानो तिनो खेल मैदानले पुग्दैन् । थोरै खेल सामग्री प्रयाप्त छैनन् । कर्णाली...नाम सुन्दै विकट, अभाव, गरिबि, अशिक्षा, सबै कुरामा पछाडि । कर्णालीको अभावलाई देखाएर धेरै राजनिति भयो । यहिको पिडालाई देखाएर ‘जनयुद्ध’ भयो, विभिन्न संघर्ष भए, आन्दोलन भए । तर पिडा देखिने गरी कम भएन् । अझ भनौ यहाँ अभाव कायमै छ, गरिबि हटेको छैन्, शिक्षाको ज्योति बलेको छैन्, कर्णाली अझै पर छ, धेरै पर । सबै कुराले पछि परेको कर्णाली अझै कतिञ्जेल पछि नै पर्नुपर्ने हो ? कसले दिन्छ यसको जवाफ ? अभावै अभावबाट हुर्किदै छ क्रिकेट । नामै नसुनेका यहाँका युवाहरुलाई क्रिकेटमा लगाउनु कम चुनौतिपूर्ण छैन् । रुकुम, जाजरकोट, सल्यान, हुम्ला, मुगु, डोल्पा, कालिकाेट, जुम्ला जस्ता पहाडै पहाडले बनेका जिल्लामा क्रिकेट खेलाउन कहाँ सजिलो छ । न खेल मैदान छ, न क्रिकेटलाई धेरैले बुझ्छन् । अभिभावकहरु चाहन्छन मेरो छोरा, छोरी डाक्टर बनोस, शिक्षक बनोस....जे बनोस सरकारी जागिरे बनोस् । न बिद्यालयमा क्रिकेटको माहोल छ, न जिल्लामा क्रिकेट गतिविधिहरु भैरहन्छन् । होउन पनि कसरी अहिलेसम्म कर्णालीका सबै जिल्लामा क्रिकेटको संरचना बनिसकेको छैन् । संघीयता पछि प्रदेश बाँडफाँडका क्रममा बनेको कर्णाली प्रदेशमै क्रिकेट संघ नेपाल(क्यान)को संरचना बनेको छैन् । सरकारी तवरबाट यहाँ क्रिकेट गतिविधिहरु शुन्य छन् । क्रिकेट संघ तथा नीजि क्षेत्रबाट एकाध प्रतियोगिताहरु हुन्छन् । त्यसैले हो अहिलेसम्म धानेको । सुर्खेत बाहेका बाँकी कुनै जिल्लाले क्यानको सदस्यता पाएका छैनन् । क्यानले प्रदेश संयोजक तोकेपछि भने नयाँ सदस्यताका लागि पहल भइरहेको छ ।
हरेक क्षेत्रको अभाव जसरी क्रिकेटले पनि ढुंगाबाट काप फाल्ने प्रयास गरिरहेको छ । कडा चट्टान फोडेर निस्किएको पालुवालाई जसरी हुर्किन समस्या हुन्छ । त्यसैगरी अभावै अभावबाट जन्मिएर कर्णालीमा क्रिकेटलाई हुर्किन कम्ता दुःख छैन् । म आफै पनि कर्णाली प्रदेशको क्रिकेट संग नजिक छु र यहाँको अवस्थाबारे एकदम जानकार छु । रुकुम पश्चिम जिल्ला क्रिकेट संघको सचिव भएर २०७२ साल देखि काम गरिरहेको छु । जसरी देशमा कर्णाली प्रदेशको अवस्था छ । हो ठ्याक्कै त्यस्तै अवस्थामा छन्, प्रदेशमा रुकुम जस्ता अन्य जिल्ला । सुर्खेत भौगोलिक रुपमा सुगम भएकाले प्राकृतिक रुपमै बनेका फाँटहरु छन् । त्यसमा थोरै दुःख गरेर पनि खेल्न योग्य बनाउन सकिन्छ । तर पहाडै पहाडले बनेका रुकुम जस्ता जिल्लामा खेल मैदान प्रमुख चुनौतिका रुपमा छ । क्रिकेटप्रति चासो भएका अलिअलि युवाहरुलाई पनि क्याच गर्न सकिएको छैन् । कुनै ठाउँमा खेल्न सिकेका जिल्ला भित्रका युवाहरुलाई पकडेर जिल्लाको टिम बनाउनु बाहेक अर्को विकल्प छैन् । नयाँ खेलाडि उत्पादन हुन सकेका छैनन् । यो रुकुम पश्चिम मात्र होईन कर्णाली प्रदेशका सुर्खेत बाहेक बाँकी ९ वटा जिल्लाको व्यथा हो । विडम्बनाः कुनै जिल्लामा त क्रिकेट पुग्नै सकेको छैन् भन्दा पनि हुन्छ ।
अवस्था यस्तो छ । तर पनि खेलाडिले कर्णाली अव कमजोर छैन भन्ने उद्घोष गरिसके । राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णालीले इतिहास बनाएको छ । कुनै पनि राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको छ । गण्डकी प्रदेशलाई पराजित गर्नु कर्णालीका लागि ऐतिहासिक जित बन्यो । बाँकी खेलमा राम्रो खेल्दै सबैको ध्यान केन्द्रीत गर्न सफल भयो । आफुलाई सबल टिमका रुपमा उभ्याएको छ । कर्णालीलाई पन्छाउन सबै सुविधा सम्पन्न बलिया विभागिय टिमहरु नेपाल आर्मी र शसस्त्र प्रहरी बल (एपिएफ)लाई हम्मेहम्मे भयो । प्रत्येक खेलाडिले दिलो ज्यान दिएर खेले, टिमका लागि खेले । हार जित त अवश्य हुन्छ तर कसरी हार्यो भन्ने कुराले महत्व राख्छ । यो पटक ह्या यस्तो पनि खेल हुन्छ भन्ने पटक्कै पनि भएन कर्णालीका लागि । यो सफलता र मनोबलले अवको यात्रालाई दुई कदम अगाडि पुर्याउन मद्त पुर्याउने मलाई लाग्छ । जसले हामिलाई पनि थप हौस्याएको छ । विदेशि प्रशिक्षकबाट खेलाडिहरुले प्रशिक्षित हुने मौका पाएका छन् । यो सबैका लागि खुशिको कुरा हो ।
तर हेँलाले हेरिने कर्णालीका लागि अवको यात्रा कम चुनौतिपूर्ण भने पक्कै छैन् । जवसम्म यहाँका टोलटोल सम्म क्रिकेटको माहोल सृजना हुँदैन् तबसम्म ठुलो सफलता हात लाग्दैन् । अहिलेसम्म जे भयो, जस्तो भयो भयो । अवका दिनमा यसले पुग्दैन् । नत्र हरेक पक्ष जसरी अरु अगाडि बढ्ने हामि पछाडि सर्ने जस्तो नहोला भन्न सकिन्न । जुन सुरुवात भएको छ । यसमा क्रिकेट संघहरुले अहिलेको भन्दा दुई गुणा बढी योगदान गरौं, नीजि लगानि भित्र्याउ र सरकारी ध्यान केन्द्रित गरौं । कर्णाली अव हार्नका लागि मात्र खेल्दैन भन्ने सावित गरौं । अवको पहिलो कदम भनेकै कर्णालीमा क्यानको संरचना निर्माण नै हो । जबसम्म हामि क्यान संग आवद्ध हुँदैनौं तबसम्म हामिले मौका पनि पाउँदैनौं । हामिलाई प्राविधिक ज्ञानको खाँचो छ । हामिलाई भौतिक संरचना चाहिएको छ । खै यसमा सरकारी लगानी ? अव यसको जवाफ खोज्दै जुटौं । सबैले आफ्नो ठाउँबाट हातेमालो गरौं । नत्र अव पनि हामिले कतिञ्जेल हार्नकै लागि मात्र खेल्ने ?