दलित उत्थानका दलितहरु कस्सिएका छन् । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका दलित समुदाय आयआर्जन, व्यवसायिकरण मार्फत जीवन स्तर र जीवन शैली परिवर्तण अभियानमा लागेका छन् । स्वाभिमान दलित उत्थान बहुद्देश्यिय सहकारी निर्माण गरेर दलित समुदायले सामूहिक काम थालेका छन् ।
गत पुस ५ गतेको दलितहरुको भेलाले गाउँपालिकाभरको सहकारी निर्माण गरिएको थियो । उक्त सहकारीको गाउँपालिका केन्द्र रुकुमकोटमा कार्यालय समेत खोलिएको छ । ७४ जना शेयर सदस्य रहेको उक्त सहकारीले अरु सदस्य बढाउने र आयआर्जन बढाउने निर्णय गरेको छ । सहकारीका अध्यक्ष हर्कविर कामीले दलितका सिपकला औद्योगिकरण र सिपको संरक्षण मार्फत आयआर्जन गर्ने लक्ष रहेको बताउनुभयो ।
यसका साथै कृषि, पशु पालन, उद्योग धन्दा निर्माण र दलित समुदायको परिचालन गर्ने उद्देश्य पनि राखिएको अध्यक्ष कामीले बताउनुभयो । गाउँपालिकाका ८ वडामा एउटा एउटा सामूहिक व्यवसाय सञ्चालन गर्ने र त्यसबाटै दलित समुदायको हितको काम गर्ने योजना रहेको अध्यक्ष कामीले जानकारी दिनुभयो ।
२ नम्बर वडामा बाख्रा पालन, ६ नम्बर वडामा मसला उद्योग सञ्चालनको निर्णय र तयार भएको छ भने अरु ६ वडामा पनि यस्तै आम्दानी गर्न सकिने व्यवसाय सञ्चालन गर्ने तयारीमा सहकारी छ । हरेक वडा, टोल, वस्ति हुँदै घरघर पुगेर सहकारी सम्बन्धिको शिक्षा प्रदान गर्ने सबै दलित समुदायलाई सहकारी मार्फत समृद्धितर्फ लैजाने हेतुले सहकारी बनाएर कामकाज थालेको अध्यक्ष कामीको भनाई छ ।