जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्धारण गरेको भाडादर कार्यान्वनमा आउन सकेन । एक दिन उक्त भाडा कार्यान्वयनमा नआइ भाडादर पूनः समायोजन गरिएको छ । माघ १ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले रुकुम पश्चिम जिल्लाका आन्तरिक रुटहरुको भाडादर निर्धाण गरेको थियो । गत पुष २४ गते जिल्लाका आन्तरिक ५४ रुटमा नयाँ भाडादर कायम भएको थियो ।
तर उक्त भाडादर एक दिन पनि कार्यान्वयनमा आउन सकेन । यातायात व्यवसायी समेत सम्मिलित समितिबाट भाडादर निर्धारण गरेको भनिएपनि यातायात व्यवसायीले नै उक्त भाडा कार्यान्वयन हुन दिएनन् । अव्यवहारिक तथा अस्वभाविक भाडा बनाइएको भन्दै व्यवसायीले गाडि नै चलाएनन् ।
भाडा समायोजन नभएसम्म गाडि नचलाउने भनेका व्यवसायीले अन्तत भाडा समायोजन गराएर छाडे । जिल्ला प्रशासन कार्यालयले माघ १ गतेदेखि लागु हुने गरी ३ वर्गमा रुट विभाजन गरेर भाडा निर्धारण गरेको थियो । क, ख र ग वर्गमा सडक वर्गिकरण गरेर ४ वर्गको सडकमा प्रति किलोमिटर ४ रुपैयाँ, ख वर्गको सडकमा ७ र ग वर्गको सडकमा प्रति किलोमिटर ८ रुपैयाँ भाडा निर्धारण गरिएको थियो । माघ ११ गतेको बैठकले फेरि भाडा समायोजन गरेको छ ।
बैठकले सडक र सवारीका आधारमा भाडा लिने निर्णय गरेको छ । क वर्गको सडकमा प्रति किलोमिटर बसले ४ र जिपले ५ रुपैयाँ लिन पाउने गरी भाडा कायम गरिएको छ । ख वर्गको सडकमा बसले ७ र जिपले ८ रुपैयाँ प्रतिकिलोमिटर भाडा लिन पाउने गरी भाडा समायोजन गरिएको हो । ग वर्गको सडकमा बसले प्रतिकिलोमिटर ८ र जिपले ९ रुपैयाँ भाडा लिन पाउने गरी भाडादर समायोजन गरिएको छ ।