Kakhara सबैको खबर सम्पूर्ण खबर
एक दर्जन कार्यालयको सेवा घर आँगनमै
फाइल फाेटाे ।

रुकुम पश्चिमको चौरजहारी नगरवासीले जिल्ला स्थित विभिन्न कार्यालयबाट प्रवाह हुने सेवा घर आँगनमै पाउने भएका छन् । जिल्ला स्थित १ दर्जन कार्यालयको सेवा नगरवासीले आफ्नो घर आँगनमै पाउँने भएका हुन् । यसका लागि नगरपालिकाका २ ठाउँमा एकीकृत घुम्ती शिविर संचालन हुने भएको छ । नगरका १ देखि ९ सम्मका वडावासीलाई लक्षित गर्दै माघ ३० गते वडा नं. २ को शितल माध्यामिक विद्यालयमा र १० देखि १४ नम्बर वडावासीलाई लक्षित गरेर फागुन १ गते वडा नं. ११ को जहारी क्याम्पस टाटाबजारमा एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने नगरपालिकाले जनाएको छ । शिविरबाट नगरवासीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, स्वास्थ्य सेवा कार्यालय र तरकारी वीउ उत्पादन केन्द्रले प्रवाह गर्ने सेवा पाउँने छन् । त्यस्तै पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन वन कार्यालयको सेवा पनि शिविरबाट प्रवाह हुने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता बाहेकका अन्य सचेतनामुलक सेवाहरु र जिल्ला प्रहरी कार्यालयले शान्ति, सरक्षा तथा अपराध न्युनिकरण सम्बन्धी सेवा दिनुका साथै सार्वजनिक सुनुवाई गर्ने उहाँको भनाई छ । गत वर्षदेखि गृहमन्त्रालयले घुम्ति शिविर मार्फत नागरिकता वितरण गर्न रोक लगाईसकेकाले नागरिकता वाहेकका सेवा दिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । जिल्ला सरकारी वकिल कार्यालयले जनता संग सरकारी वकिल संवाद कार्यक्रम संचालन गर्ने छ भने मालपोत कार्यालयले जग्गा रजिष्ट्रेशन र नामसारी तथा नापी कार्यालयले कार्यालयबाट प्रवाह हुने सेवा दिने बताईएको छ । तरकारी वीउ उत्पादन केन्द्रले तरकारीको वीउ वितरण गर्ने, कृषि विकास कार्यालयले कृषि सम्बन्धी प्राविधिक सेवा प्रवाह गर्ने, पशु सेवा कार्यालयले पशुको स्वास्थ्य परीक्षण र उपचार गर्ने, स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य शिविर संचालन गर्ने, डिभिजन वन कार्यालयले डढेलो सम्बन्धी सचेतामुलक कार्यक्रम संचालन गर्ने छ भने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले व्यवशाय फर्म दर्ता सम्बन्धी लगायतका सेवा दिने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकाकारी गैह्रेले जानकारी दिनुभयो ।

यसैविच नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा पनि शिविरबाट संचालन हुने नगरपालिकाले जनाएको छ । गत वर्ष चौरजहारी र आठबीसकोट नगरपालिका बाहेक अन्य स्थानीय तहमा घुम्ती शिविर संचालन भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो वर्ष गत वर्ष शिविर संचालन हुन नसकेका स्थानीय तहमा शिविर संचालन हुन लागेको र चौरजहारी पछि आठबीसकोटमा शिविर संचालन हुने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । विशेषगरी जिल्ला स्थित कार्यालयको सेवा लिनका लागि सदरमुकाममा पुग्न नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै एकीकृत घुम्ती शिविर संचालन गर्ने गरिएको उहाँको भनाई छ । यसबाट सबै नागरिकहरु लाभान्वित हुने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update