मस्त निन्द्रामा सुतिरहेको थिए । बाहिरको कोलाहलले व्युझिन वाध्य बनायो । अपराधीलाई कठघरामा उभ्याएर पुलिसले बयान लिन लागे जस्तो प्रश्न माथी प्रश्न । कुनै रोकावट छैन्, कुनै त्रास छैन्, न त लाज छ, नत नैतिकता, न त विधी छ, न त विधान एकोहोरो गाली गलौज र मनलाग्दीपन । लठ्ठा परेको कपाल जिरीङ्ग भयो ! वचनवाणले आङ सिरिङ्ग भयो । अलि अलि रिस, थोरै दया, धेरै टिठ लागेर आयो । नअघाउन्जेल, नथाकुन्जेल, धित नमरुन्जेल सत्तो सराप गरेको सुन्दा छिमेकी रमिते वने, सन्तान नतमस्तक र कर्तव्यवोध गर्दै जिम्वेवारीको र जवाफदेहिताको खाजी ।
प्रसंग र परिवेश थाहा पाउन परिस्थितीलाई वुझ्न आवश्यक ठानेर मौनाताको विकल्प देखिन, चुप लागेर सुनिरहे एकोहोरो । केलाई रहे शब्दलाई मनमनै । धिक्कारीरहे आफैंलाई एक छिन, सम्झिए पुर्खाको गाथा र वहादुरीलाई, दौडाए माटो भरी आत्मालाई, चियाए नियालेर चित्तलाई । एकठ्ठा गरेंर ह्ृदयलाई सुस्तरी पाईला चाले वास्तविकता र विषयवस्तुको गहिराई तिर ।
रिसाएको वेला आर्शिबाद, झगडाको वेला राम, लडाईको वेला दया माया त कसैले गर्दैन । तै पनि सन्तानलाई गर्ने सराप र पराईलाई गर्ने व्यवहारले अलमलमा परेको छु उपायको जोहोको लागी । अवदेखि मलाई बा नभन्नु, मैले तिमीहरुको केही पनि खाएको छैन्, आफु गर्न नसक्ने मेरो डाहा गर्ने ? छिमेकीलाई हेर्दा मेरो मन रुन्छ, उनिहरुका जस्ता सन्तान भए पो ! तिमीहरु हुतिहारा, नकच्चरा मेरो पैतलामुनिका माटो, धुलोका कन, नालीका कीरा, गल्लीका कुकुर, अस्तित्व विनाका वेकम्मा, विचार विनाका छाडा गोरु यस्तै यस्तै......थुप्रै थिए बा का गाली । तिमीहरुको फोनले म तर्सिन्न, तिमीहरुको स्वरले म थर्किन्न, तिमीहरुको कम्पनले म डगमगाउन्न, तिमीहरुको गर्जनले म डराउन्न यस्तै यस्तै.....थुप्रै थिए बा का वाक्यांश ।
जसले आमाको स्नेह र बा को प्यार तथा छाँया पाएको छ । जसले सन्तान पाएको छ । सन्तानको लागी आफ्नो कर्तव्यवोध गरेको छ । उसले मात्र दिन सक्छ कि सन्तान के हो भन्ने प्रश्नको जवाफ । कुन्ठा डाह र उकुसमुकुसताले निम्त्याउने खतराको नजरअन्दाज गर्न कति सान्दर्भिक होला । बोलीको ओजन नभएका बा को वास्तविकता बारे आमालाई थाहा छ कि विचार गरे र सोधीहाले बा लाई के भाको ? यो रोग कि व्यथा, वास्तविकता हो की कथा, यथार्थ हो कि कहानी, बुढ्यौली पन हो की सम्झीएको जवानी । आमाको मौनताले मलाई झन खिन्न वनायो । बा को रवरस्ट्याम्प वनेको देख्दा उदासीनताको सिमा रहेन । झोक्रिएर, घोरीएर, टोलाएर वस्ने, बोल्न नचाहने बेला बेला बा को स्वरमा स्वर मिलाइ हाल्ने आमाको व्यवहारले अव मेरो मनमा प्रश्नै प्रश्नको चाङ लागेका छन् ।
जिवन के हो ? जगत के हो ? सन्तान को हुन् ? के हुन ? के का लागी हुन् ?........? अध्यात्मीक चिन्तन र द्धन्दात्मक भौतीकवादी चिन्तनलाई दाँजेर केलाउन थाल्छु ।
आमाको मौनता र लरबराएको वोली र बा को दिकदारी, वैराग्यपूर्ण, कटु वाण प्रहार तथा छिमेकी संगको अच्चमित व्यवहारले सन्तानलाई मातृत्वको रक्षार्थ गर्नुपर्ने दायित्व र निभाउनु पर्ने भुमिका लाई सावधानीपूर्वक बुद्धीमतापूर्ण तरीका अपनाउनु पर्ने उपयुक्त बेला भएको छ । म नै जिवन हु, जिवन नै मेरो हो, म सवथोक हु, सवथोक मेरा हुन, मेरो विरोध गर्नेहरु अपराधी हुन, अपराध गरेर मेरो गुणगान गर्नेहरु मेरा हुन् । यस्ता यावत कुराहरुका साथै अनगिन्ती बोलीहरुले अव सन्तान चनाखो हुनुपर्ने बेला भएजस्तो लाग्छ । अर्कालाइ होच्याउनु, गाली गर्नु, हेप्नु दिनचर्या जस्तै भएका छन् हिजो आज । आफ्नो औकात, ओजन, दायित्व, कतव्र्य र नैतिकलाई चटक्कै भुलेर सर्वशक्तीमान ठान्ने बा को ओखती बेलैमा खोजियोस सन्तानमा चेतना भया ।
सन्तानहरु छुट्टीएर भाई वन्छन, भाई छुट्टीएर समाज हुँदै वस्ती र देश । छुट्टीदा खोईरो खन्ने, मसीदा अर्धो हाल्ने, मिलाउदा फुटाउने, फुटाउन अत्याधीक परिश्रम गर्ने, सबैलाई अच्चमित पर्ने साहस हिम्मतको पछाडी पराईले दिने कानेखुसी र ढाडसले काम गरेको छ रे । सुनेको छु हिजो आज त बा ले सुटुक्क कुन्नी के हो चार पाँच गोली खान्छन रे । हिजो अस्ती सम्म मर्छु कि क्या हो भन्दै पूर्व पश्चिमका अस्पताल धाउने र आराम गरी राख्ने आफ्नो कोठा नछाड्ने बा आभोली त एकाथलो छैनन् । मेरा यस्ता, तेरा उस्ता कथा कहानी इतिहास नाना, दुखेको घाउमा चुकको वहाना । न निद्रा छ रातमा, न विरोधी छन साथमा, न भोक छ दिनमा । नाच्दै उफ्रदै वकुर्सी मार्छन छिन छिनमा । हाम्रो सम्पत्ती मजाले कमाएका छन्, त्यही सम्पत्तीको आडमा रमाएका छन्, खाए खा नखाए घिच, अव फेरी के हो जोड सब चिज भनेका छन् । भाई फुटे गँवार लुटे वुझेरै गरेका होलान । नबुझ्ने त कुरै भएन् । मलाई कसैले सिकाउनु पर्दैन वत्तीस लक्षण र चौसठ्ठी कलाले युक्त छु । सत्तो सराप र खोईरो खन्नमा पोख्त छु । विद्यालय नगएर के भो त महाविद्यालय मै हु । विश्व विद्यालयका प्रध्यापक मेरा चेला हुन भन्छन ।
सकिने हो कि नसकिने, देखिने हो कि नदेखिने, इतिहास हो कि वित्यास गजव छ वा ।