नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको छैठौं साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको साधारण सभाले महासंघको सांगठनिक प्रतिवेदन आवश्यक सल्लाह, सुझाव, छलफल र गतिविधि थप गर्ने गरी पास गरेको छ । तर आर्थिक प्रतिवेदन भने पास हुन सकेन । सभामा प्रस्तुत आर्थिक प्रतिवेदनप्रति साधारण सदस्यहरुले चित्त नबुझाएको र महासंघको भवन निर्माण तथा आर्थिक कारोबारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले थप छलफल गर्नका लागि यथास्थानमा राख्ने साधारण सभाले निर्णय गरेको छ । सांगठनिक प्रतिवेदन सचिव हरि गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविर ददेलले प्रस्तुत गर्नुभएको थियो ।
बन्द सत्रका लागि राजु लामिछाने संयोजकत्वमा तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । त्यसअघि महासंघका जिल्ला अध्यक्ष गणेश चिन्तनको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहको प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले ६ वटा मैनबत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य शर्माले समृद्ध समाज निर्माणका लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । विचार दर्शन जे भएपनि पत्रकारले निष्पक्षताका साथ समाज परिवर्तनका लागि कलम चलाउनुपर्ने पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले पत्रकारहरुको हक हितका लागि विभिन्न पहल गरिरहेको भन्दै उहाँले प्रदेश प्रशारण ऐन पारीत गरिसकेको र आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रियामा रहेको जानकारी गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले हरेक विकृति र विसंगति हल गर्ने गरी पत्रकारहरुले काम गर्नुपर्ने बताउनुभयो । विषयलाई अनावश्यक रुपमा तन्काईदा त्यसले थप संकट निम्त्याउन सक्ने तर्फ पत्रकारहरु सचेत हुनुपर्ने उहाँको सुझाव थियो । साथै उहाँले सरकारले लिएका लक्षहरुलाई पुरा गर्नका लागि पत्रकारहरु हातेमालोका लागि अग्रसर भइरहेको र आगामि दिनमा पनि त्यो आवश्यक रहेको बताउनुभएको थियो । पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्माले पत्रकारहरुको हक हितका लागि महासंघ सक्रिय रहेको बताउनुभएको थियो । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मानवहादुर नेपालीले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नारायणकुमार शाहले पनि बोल्नुभएको थियो ।
महासंघका अध्यक्ष गणेश चिन्तनको अध्यक्षता र उपाध्यक्ष लक्ष्मण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव हरि गौतमले गर्नुभएको थियो ।