पटक पटक झडप र लफडा हुने रुकुम पश्चिमको आठबीसकोटका दुई ठाउँमा सद्भाव सभा हुने भएका छन् । ९ नम्बर वडाको राडीबजार र ३ नम्बर वडाको खदीमा दुई पार्टीको सयुंक्त आयोजनामा सर्वपक्षिय सदभाव कार्यक्रम गर्ने तयारी गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको सयुंक्त आयोजनामा सद्भाव कार्यक्रम गरिनेछ । नेकपा र नेपाली कांग्रेसका नेताहरुको सहभागितामा बसेको बैठकले आगामी दिनमा यस्ता झै झैगडा नगर्ने र हालसम्म भएका झै झगडा र लफडाको व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकले यस अघि भएका झै झगडा राजनीतिक निर्देशनमा नभएको निष्कर्ष निकालेको छ । तर घटना भएपछि भने राजनीतिक आवरण लिन खोजेको महशुस दुवै पार्टीका नेताहरुले गरेका छन् । आगामी दिनमा यस्ता घटना हुन नदिन दुवै पार्टी लागिपर्ने निर्णय पनि भएको छ । बैठकले नगरप्रमुख गोर्खबहादुर केसी संयोजक रहेको ५ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले भएका घटना तथा लफडाको व्यवस्थापन गर्ने छ । राडीबजार र खदीमा सर्वपक्षिय सद्भाव कार्यक्रम गर्न पनि यही कार्यदलले मिति सिफारिस गर्ने सहमति भएको छ ।
कार्यदलमा नेकपा आठबीसकोट नगर कमिटि सचिव रवि केसी, १० नम्बर वडाध्यक्ष गंगाराम चनारा, नेपाली कांग्रेसका नेता धिरेन्द्र बटाला र ९ नम्बर वडा अध्यक्ष तारकबहार शाही सदस्य छन् । नेताहरुको बैठकले आगामी दिनमा हुने व्यक्तिगत झै झगडामा पार्टी जोड्न नदिने र त्यसलाई व्यक्तिगत रुपमै लिइदिने निर्णय पनि गरेको छ । केही समस्या उत्पन्न भएपछि त्यसलाई स्थानीय स्तरमा नभइ जिल्ला स्तरमै समाधान गर्ने निर्णय पनि भएको छ ।
नेकपाका नगर कमिटि सचिव रवि केसीले व्यक्तिगत रुपमा भएको तर राजनीतिक रुप लिन खोजेको विषयमा दुवै पार्टीबीच समझदारी भएको जानकारी दिनुभयो । ससाना विषयमा हुने समस्या पनि पार्टीमा केन्द्रीत नगर्ने र अब दुवै पार्टीले यसका निम्ति भूमिका निर्वाह गर्ने केसीले बताउनुभयो । ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाहीले झै झगडा र लफडाको विषयमा दुवै पार्टीकाबीच समान बुझाई भएको बताउनुभयो । दुवै पक्षका जिल्ला स्तरका नेताबीचको छलफलले सद्भाव कायम गर्ने गरी निर्णय गरेको उहाँको भनाई छ । त्यस क्षेत्रमा हुने अब सबै कार्यक्रमहरु सकारात्मक सन्देश प्रवाह गर्ने गरी गर्न दुवै पार्टी सहमत भएको र त्यसै गर्नुपर्ने शाहीले बताउनुभयो ।
बैठकमा नेकपा इन्चार्ज तथा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, सह इन्चार्ज वसन्तकुमार शर्मा, जिल्ला अध्यक्ष गोपाल शर्मा, नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओली, नेता मानबहादुर नेपाली, नगरप्रमुख गोर्खबहादुर केसी, ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही र १० नम्बर वडाध्यक्ष गंगाराम चनारा सहभागि हुनुहुन्थ्यो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठलाई आमन्त्रीत अतिथिका रुपमा डाकिएको थियो ।