रुकुम पश्चिममा सार्वजनिक विदा सहित ‘जनयुद्ध’ दिवश मनाइने भएको छ । यो दिवशलाई भव्य बनाउनका लागि सार्वजनिक विदा दिइने र विदामा रहने सबै जनाले दिवश मनाउने बताइएको छ । जिल्ला सभाको बैठकले प्रदेश र संघ अन्तर्गतका कार्यालयलाई समेत विदा दिनेगरी अनुरोध गर्ने भएको छ ।
जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुको ‘जनयुद्ध’ दिवश मुल समारोह समिति गठन गरिएको छ । ‘जनयुद्ध’ दिवशको अवसरमा जिल्लामा लाग्दै आएका जनवादी मेलालाई भव्य बनाउने, निरन्तरता दिने र सकेसम्म थप कार्यक्रम गर्ने निर्णय पनि जिल्ला सभाले गरेको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो । ‘जनयुद्ध’ दिवशको जिल्ला स्तरीय कार्यक्रम सानीभेरी गाउँपालिकामा गर्ने तयारी गरिएको शर्माले बताउनुभयो ।
फागुन १ गतेदेखि १३ गते सम्म ‘जनयुद्ध’ दिवश र १४ देखि २१ गते सम्म सहिद सप्ताह मनाउने निर्णय भएको छ । सानीभेरी गाउँपालिकाले केही वर्षदेखि ‘जनयुद्ध’ दिशको अवसर पारी गुरिल्ला म्याराथन गराउँदै आएको छ । जिल्ला सभाले पालिका स्तरमा सहिद परिवार, ‘जनयुद्ध’का घाइते अपांगलाई सम्मान गर्ने, कृषि उपज आयात तथा निर्यातको व्यवस्थापनका लागि पब्लिक कृषि कम्पनी स्थापना गर्ने निर्णय पनि गरेको छ ।
हरेक गाउँपालिका तथा नगरपालिकामा कृषि विज्ञ नियुक्ति गर्ने र कृषि उत्पादन बढाउने निर्णय पनि जिल्ला सभाको बैठकले गरेको छ । जिल्लामा सञ्चालित आर्थिक समृद्धि तथा रुपान्तरण अभियानको समिक्षाको साथै कृषि उत्पादनमा लागेर लगाएर रोजगार स्वरोजगार गर्ने गराउने कुरामा पनि बैठकले जोड दिएको छ । ‘जनयुद्ध’ दिवशको अवसरमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, खेलकुद कार्यक्रम आयोजना गर्ने गरिन्छ ।