परम्परागत पापिनी मेलाको अवसरमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७, साँखमा आयोजित खुला पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा अनिल बुढा र ध्रुवबिक्रम थापाको जोडि पहिलो भएको छ । आज भएको फाईनल खेलमा रुकुम पश्चिमकै डम्बर थापा र जनक खड्काको जोडिलाई २–० को सोझो सेटमा पराजित गर्दै अनिल र ध्रुवको जोडि पहिलो भएको हो ।
पहिलो हुनेले नगद १५ हजार र ट्रफि प्राप्त गर्दा दोस्रो हुने जोडिले नगद ८ हजार र ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाईनलमा पुग्ने विशाल बिष्ट र अविनाश केसी तथा नरेन्द्र बोहरा र ज्वालासिंह खड्काको जोडिले भने समान ३/३ हजार नगद प्राप्त गरे । प्रतियोगितामा रुकुम पश्चिम सहित रुकुम पूर्व र सल्यानका गरी ३० जोडिले प्रतिस्पर्धा गरेका थिए ।
परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको अवसरमा यो वर्ष स्थानीय ठुली दह युवा क्लवले भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । हरेक वर्ष मेलाको अवसरमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरु हुँदै आएका छन् । माघ १४ गतेबाट सुरु भएका प्रतियोगिता आज सम्पन्न भएका हुन् । मेलाको अवसरमा पापिनी नाच सहित अन्य स्थानीय झाँकीहरु समेत प्रदर्शन भएको आयोजकले जनाएको छ ।।